काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानि) को वित्तीय अवस्था झनै कमजोर बन्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विमान खरिदका लागि लिइएको ऋणको साँवा–ब्याज भुक्तानी गर्न नसक्दा निगमको कुल ऋण ५५ अर्ब रुपैयाँ नाघेको छ ।
प्रतिवेदनअनुसार निगमको कुल वित्तीय दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको हो । निगमले ए–३२० र ए–३३० विमान खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।
निगमले सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो । तर, लामो समयसम्म साँवा र ब्याजको किस्ता बुझाउन नसकेपछि हर्जाना र ब्याज थपिँदै जाँदा ३६ अर्बको सुरुवाती ऋण बढेर ५५ अर्ब माथि पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
हाल निगमले कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
महालेखाले निगमको वित्तीय अवस्था सुधार्न तत्काल प्रभावकारी ऋण व्यवस्थापन गर्न र संस्थागत पुनर्संरचनामा जान सुझाव दिएको छ ।
यसैबीच, महालेखाको प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा राज्यको लगानी जोखिममा परेको प्रतिवेदनमा औंल्याइएको छ ।
महालेखाले यी दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी राजश्व बढाउन सरकारलाई सुझाव दिएको छ ।




प्रतिक्रिया