विराटनगर । ग्रिनक्रस हस्पिटलमा एक मृतकको कानबाट सुन गायब भएको छ । उपचारका क्रममा मृत्यु भएकी महिलाको कानबाट सुन हराएको हो ।
विष सेवनबाट बिरामी परेकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सविना दनुवारलाई आफन्तले जेठ १ गते ग्रिनक्रस हस्पिटलमा भर्ना गरेका थिए । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।
उपचारका क्रममा उनका दुवै कानमा सुनका मुन्द्रा थिए । मृत्युलगत्तै एकाएक दुवै कानमा रहेको एक तोला सुनको मुन्द्रा गायब भयो । आफन्तले कानको मुन्द्रा हराएको विषयमा प्रश्न गरे । सुरुमा अस्पताल प्रशासनले सुनको मुन्द्रा हराएको स्वीकार गर्न मानेन । तर आफन्तले उपचारका क्रममा राखिएको अवस्थाको भिडियो देखाएपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो ।
अस्पताल प्रशासनले सीसी क्यामेरा फुटेज जाँच गरेपछि सुन हराएको पुष्टि भएको मृतक परिवारका एक सदस्यले बताए ।
यसैबीच, अस्पताल प्रशासनले आन्तरिक रूपमा छानबिन गर्ने भन्दै मृतक महिलाका परिवारका सदस्यलाई एक तोला सुन बराबरको चेक काटेर दिएका छन् ।
यसैबीच, मोरङ प्रहरीले शवबाट सुन चोरी भएको विषयमा सूचना आएपछि अनुसन्धान थालेको जनाएको छ ।




प्रतिक्रिया