एमालेको सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा


काठमाडौं, जेठ ४ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बस्न लागेको हो ।

११ औं महाधिवेशनपछि हुन नसकेको नेताहरूको कार्यविभाजन, सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असर लगायतका बारेमा छलफल हुने जनाइएको छ ।

यसैगरी आजको बैठकमा केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी र हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने जनाइएको छ ।
यअिपघ जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । आजको बैठकमा अध्यक्ष ओली पनि सहभागी हुनेछन्।

चुनावपछि अध्यक्ष ओली पहिलो पटक बैठकमा सहभागी हुन लागेका हन्। गत चैत १३ गते जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा ओली पक्राउ परेका थिए। गत चैत २६ गते रिहा भए पनि स्वास्थ्यका कारण ओली पार्टी काममा फर्कन सकेका छैनन्।

ओली हिरासतमा हुँदा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकिएको थियो। उनको अध्यक्षतामा दुई पटक एमाले सचिवालय बैठक बसेको छ। पछिल्लो समय एमालेमा शक्तिसंघर्ष चुलिएको छ।

पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेलसहितका ओली पक्षधर भनेर चिनिएका नेता उनको विकल्प खोज्न थालेका छन्। पार्टी कमिटीमा अप्ठ्यारोमा परेपछि ओलीले बैठक टारिरहेको शंका असन्तुष्ट नेताहरूले गरेका थिए। एमालेमा निर्वाचनको समीक्षा पनि हुन सकेको छैन।