अमृत झा रिहाइको गलत सूचनामा परराष्ट्रको माफी


काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली युवा अमृत झालाई इरानले रिहा गरेको भन्ने गलत सूचना सम्प्रेषण भएको बताउँदै माफी मागेको छ।

केही दिनअघि परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालले इरानको नियन्त्रणमा रहेका नेपाली युवा झा रिहा भएको भन्ने सूचना सार्वजनिक गरेका थिए।

तर, झा इरानकै नियन्त्रणमा रहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले माफी मागेको हो।

‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
झा इरानको केशम टापुमा अवैध सामान तस्करीको आरोपमा पक्राउ परेका थिए। उनी हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

यसैबीच, मन्त्रालयले झाका परिवारलाई मन्त्रायलमै बोलाएर पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएको पनि जनाएको छ। झाको निष्पक्ष सुनुवाइ र उनलाई सुरक्षित रुपमा नेपाल फर्काउन सबै संयन्त्र प्रयोग गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

Skip This

Omoda E5 Pro