सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी


काठमाडौं, जेठ ५ । अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीलाई लिएर सर्वत्र चासो उत्पन्न भएसँगे उनलाई स्पष्टीकरण सेध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही गनेसम्मको तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।

गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् । आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन बनेको उनको भनाइ छ । ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए । उनका अनुसार आफ्नो चाहना नहुँदानहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् ।

उनले अजुकोलाई ‘माई वाइफ,माई लाइफ’,‘माई लभ’ लेखेको म्यासेजहरु पनि सार्वजनिक भएका छन् । अस्पतालमा पतिको नाम कृष्ण कार्की नै लेखिएको छ । यसअघि उनी नयाँबानेश्वरको संसद् भवन जलाउने काममा प्रत्यक्ष संलग्न भएको आरोप लागेको थियो । तर पनि कार्कीलाई टिकट दिएको कुराले रास्वपाको विरोध भएको थियो ।

उनले ४० हजार ९ सय २४ मतसहित जितेका हुन् भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १४ हजार ६२४ मत ल्याए । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल १२ हजार ६ सय ६४ मतसहित तेस्रो स्थानमा खुम्चिएका थिए । मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी भदौको उक्त घटनाभन्दा केही दिन अगाडि नेपाल आएका थिए ।