दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची


काठमाडौं, जेठ ५ । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि भोली बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनेछन् ।

यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । जसअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव वाहेक) सभामा छलफल हुनेछ।

त्यस्तैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव वाहेक) सभामा छलफलको क्रममा उठेका प्रश्नहरूको माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन् ।