काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माले अदालतमा मुद्दाको दर्तादेखि फैसलासम्मको सम्पूर्ण प्रक्रियालाई डिजिटल प्रणालीमार्फत ट्रयाक गर्ने कार्ययोजना अघि सारेका छन् । न्याय सम्पादन र मुद्दा व्यवस्थापनलाई छिटो, छरितो र प्रभावकारी बनाउने मुख्य सङ्कल्पसहित उनले यस्तो योजना अघि सारेका हुन् ।
उनको कार्ययोजनामा सूचना प्रविधिको व्यापक प्रयोग र व्यवस्थापकीय सुधारमार्फत न्यायालयप्रतिको जनआस्था अभिवृद्धि गर्ने उल्लेख छ ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजनामा प्रविधिमैत्री न्याय सम्पादनलाई विशेष प्राथमिकता दिइएको छ । सूचना प्रविधिको प्रयोगमार्फत म्याद तामेली, साक्षी परीक्षण तथा फरेन्सिक लगायतका परीक्षण प्रतिवेदन झिकाउने कार्यलाई द्रुत गतिमा अघि बढाइने उल्लेख छ । डिजिटल प्रणालीको विकाससँगै सेवाग्राहीले आफ्नो मुद्दाको अवस्था र प्रगति सहजै थाहा पाउन सक्ने उनको विश्वास छ ।
सर्वोच्च अदालतमा वर्षौँदेखि कायम रहेको हेर्न नभ्याइने र हेर्न नमिल्ने सूचीको समस्या अन्त्यका लागि विशेष सफ्टवेयर विकास गरिने कार्ययोजनामा समेटिएको छ । सफ्टवेयरकै माध्यमबाट पेसी तोक्ने कार्यलाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाइने पनि शर्माले उल्लेख गरेका छन् ।
त्यस्तै, देशको विकास निर्माण र आर्थिक गतिविधिसँग जोडिएका मुद्दाहरूलाई शीघ्र किनारा लगाउन विशिष्टिकृत न्यायाधीकरण तथा डेडिकेटेड इजलास तोक्ने व्यवस्था मिलाइने शर्माको प्रस्ताव छ ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माले संसदीय सुनुवाइ समितिमा मुद्दा व्यवस्थापन र न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाउने आफ्नो प्रस्ताव प्रस्तुत गर्नेछन् ।




प्रतिक्रिया