इजरायल रोजगारीमा सरकारी अन्योलः प्रक्रिया पूरा गरेका युवा सडकमा


काठमाडौँ । इजरायलको रोजगारी खुल्ने विषय अन्योलमा परेपछि विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवा आन्दोलित भएका छन्। आन्दोलित युवाले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै शुरू हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक गरेको छैन।आधिकारिक सूचना नआउँदा इजरायल जान चाहने हजारौं उम्मेदवारहरू अन्योलमा परेका छन्।

२०८१ मा भएको गोलाप्रथामा छनोट हुन नसकेका उम्मेदवारहरूलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक–पटक दिएका थिए।

विभागको यही आश्वासन र विश्वासका आधारमा धेरै युवाहरूले नयाँ आवेदन प्रक्रिया कुरेर बसेका थिए।

लामो समय बितिसक्दा पनि विभागबाट ठोस निर्णय नआउँदा उम्मेदवारहरूमा निराशा बढ्दै गएको छ। आफ्ना माग सम्बोधन गराउन उम्मेदवारहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयमा निरन्तर डेलिगेसन जाने तथा ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएका छन्।