काठमाडौं, जेठ ६ । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ ।गएराति एक्कासी आएको असिनासहितको बाढीले डाँफे आधारभूत विद्यालय, खेतीयोग्य जमिन र गोठहरु बगाएको छ ।
लेदोसहितको पहिरोमा केही भेँडाबाख्रा पुरिएका छन । मानवीय क्षति भएको बारे अहिलेसम्म जानकारी आएको छैन् । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ दुर्गममा भएकाले क्षतिबारे पूर्ण विवरण आउन नसकेको बताए । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।




प्रतिक्रिया