काठमाडौं, जेठ ६ । एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ।
आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन्। हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए।
सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ। राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ।
झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको कुल ९५ किलोमिटर सडकखण्डलाई विभिन्न प्याकेजमा वर्गीकरण गरिएको छ। यसमध्ये झापाको सीतापुरीदेखि पश्चिम खण्डमा पर्ने २० पुलमध्ये यी तीनवटा सबैभन्दा ठूला हुन्।
रतुवा नदीमा ५८५ मिटर, लोहन्द्रा नदीमा ३८५ मिटर र बक्राहा नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ। तीनवटै पुल निर्माणमा आधुनिक र सुन्दर देखिने ‘स्टिल आर्क’ प्रविधिको प्रयोग हुने आयोजना प्रमुख प्रजापतिले बताए।
तीनवटा पुलको निर्माणसम्बन्धी ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले पाँच अर्बमा लिएको छ। पुलमा प्रयोग हुने स्टिल संरचनासम्बन्धी उच्च प्राविधिक कार्य चिनियाँ कम्पनी आफैँले गरिरहेको छ भने बाँकी सिभिल निर्माणका काम नेपाली साझेदार कम्पनीले सम्हालिरहेको उनले जानकारी दिए।
रतुवा नदीमा बन्ने ५८५ मिटर लामो ‘सिग्नेचर’ पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ र बाँकी खण्ड कङ्क्रिटको हुने जनाइएको छ। यस पुलमा तीनवटा स्पान रहने भएको छ। लोहन्द्रा नदीको ३८५ मिटर लम्बाइको पुलमा ८० मिटरका दुईवटा स्टिल स्पान रहनेछन्। बक्राहा नदीको ३१८ मिटर लामो पुलमा पनि दुईवटा स्पान रहने जनाइएको छ।
मोरङको उर्लाबारीस्थित सडकको दक्षिण किनारमा स्टिलका पाटपुर्जा फ्याब्रिकेसन (जडान)कार्य भइरहेको र त्यहाँ तयार गरिएका सामग्रीलाई पुलको मुख्य संरचनामा ल्याएर जडान गर्ने काम धमाधम भइरहेको उनले बताए।
वर्षायाममा पनि पुलको निर्माणकार्य प्रभावित नहुनेगरी प्राविधिक तयारी मिलाइएको आयोजनाले जनाएको छ। हाल रतुवा नदीको पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको छ। रतुवामा तीनवटा स्पानको काम सकिएर अर्को ‘आर्क’ थप्ने तयारी भइरहेको उनले जानकारी दिए । रतुवाको काम सकिएलगत्तै लोहन्द्रा र बक्राहा पुलको निर्माण कामलाई तीव्रता दिइने उनको भनाइ छ।
रतुवा पुलको पूर्वी भागबाट स्टिल आर्कको कार्य विस्तार भइरहेको छ। स्टिलतर्फको धेरैजसो काम भइसकेको र अब कङ्क्रिटको काममात्र बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख प्रजापतिको दाबी छ।
प्राविधिक कारणले गर्दा पुलको निर्माण सम्पन्न गर्न सम्झौता अवधिभन्दा थप पाँच महिना जति बढी समय लाग्न सक्ने आयोजनाको अनुमान छ। “कामलाई निर्धारित समयमै सक्न आयोजना कार्यालय र निर्माण कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली साइटमै निरन्तर खटिइरहनुभएको छ”, प्रजापतिले भने, “अथक प्रयास गर्दागर्दै पनि प्राविधिक कारणले पाँच महिना थप अवधि लाग्न सक्छ।”




प्रतिक्रिया