नमूना कार्यक्रमकाअन्तर्गत उद्यानमा मौरीपालन


काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाले नमूना कार्यक्रमअन्तर्गत विभिन्न आठ उद्यानमा मौरीपालन कार्यक्रम गर्ने भएको छ ।

करिब नौ लाखको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर उद्यानमा राखिने महानगरपालिकाका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । यो जातका मौरी उच्च पहाडी, मध्यपहाडी र तराई क्षेत्रमा पाइन्छन् । यी मौरीले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका उनले जानकारी दिए ।

यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको होे । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुने छन् । कार्यक्रमको पहिलो चरणमा शङ्खधर उद्यान ९रत्नपार्क० मा २ घार, वडा नं ३ को रानीबारी सामुदायिक वनभित्र चार घार, वडा नं १६ को बालाजु बाइसधारा उद्यानभित्र पाँच घार, सोही वडाको गुरुनानक उद्यानमा दुई घार, वडा नं ४ को शङ्खपार्कमा दुई घार तथा वडा नं ६ को लाखेपोखरी उद्यानमा दुई घार मौरी राखिएका छन् ।

यस्तै वडा नं १४ को भुवनेश्वरी उद्यानमा चार घार र वडा नं ३२ को मदन भण्डारी उद्यानमा दुई घार राखिएका श्रेष्ठले जानकारी दिए । इन्जिनियर श्रेष्ठ भन्छन्, “एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । योभन्दा धेरै सङ्ख्यामा माहुरी भए भने छुट्टै रानीमौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको सङ्ख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ ।”

घारको सुरक्षाका लागि फलामे बार राखिएको उल्लेख गर्दै इन्जिनियर श्रेष्ठले उद्यानमा रैथाने बिरुवा र फूल रोप्ने कामलाई बढाउने, बिरुवामा प्राकृतिक मल राख्ने, बिरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादीको प्रयोग रोक्ने योजना रहेको बताए ।

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इन्जिनियरका रूपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै सङ्कटमा पर्न सक्छन् । फूलहरूको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाको प्रजनन प्रक्रियामा मौरीको ठूलो भूमिका हुन्छ ।

वनस्पतिहरूको विविधता कायम राख्न मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि वासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको गुणको उपयोग गरेर कामपाले जैविक विविधता पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो । रासस