काठमाडौं, जेठ ६ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले डालामा काफल बेच्ने महिलामाथि दुर्वयवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने बताएको हो । साथै,पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको नगरपालिकाको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वडा नम्बर ६, मा रहेको सिटी बसपार्क क्षेत्रभित्र डालामा काफल बेच्दै गर्नुभएको महिलामाथि भएको व्यवहारप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
वीरेन्द्रनगरस्थित सिटी बसपार्क आसपास डालामा काफल बेचिरहेकी एक महिलाको डाला खोस्दै नगर प्रहरीले भुईंभरि काफल पोखिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो सार्वजनिक भएपनि मेयर मन्जुमाया ढकालले पीडितलाई कार्यालयमा बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति दिई नगर प्रहरीका तर्फबाट माफीसमेत मागेकी छन् ।




प्रतिक्रिया