काठमाडौं, जेठ ७ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै गोरखापत्रको महाप्रबन्धक र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त मागेको हो।
गोरखापत्र संस्थानको रिक्त रहेको महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरी नियुक्त गर्नुपर्ने भएकोले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ। इच्छुक योग्य व्यक्तिले जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ। दरखास्त पेस गर्ने उम्मेदवारका लागि दरखास्त फाराम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
मन्त्रालयले योग्य नेपाली नागरिकलाई २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन आग्रह गरेको छ। आवेदनसम्बन्धी विस्तृत विवरण, मापदण्ड तथा फाराम मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।





प्रतिक्रिया