मलमासमा जाग्ने गेरुका धामको महिमा


महेन्द्रनगर (धनुषा) ७ जेठ । मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्ने गेरुका धाम अहिले फेरि श्रद्धा, भक्ति र आस्थाले भरिन थालेको छ । प्रत्येक तीन वर्षमा एकपटक पर्ने मलमास अर्थात पुरुषोत्तम माससँगै लाग्ने एकमहिने गेरुका स्नान मेला आइतबारदेखि सुरु भएसँगै महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्र भक्तजनको आगमनले गुञ्जायमान बनेको छ ।

धनुषा र महोत्तरी जिल्लाको सीमामा अवस्थित यस ऐतिहासिक तथा धार्मिकस्थलमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन पवित्र स्नान, पूजा–आराधना र दर्शनका लागि पुग्न थालेका छन् । रामायणकालीन इतिहास बोकेको मानिने गेरुका धाम मिथिला क्षेत्रको प्राचीन धार्मिक परम्परासँग गाँसिएको स्थल हो ।

धार्मिक ग्रन्थ तथा स्थानीय जनविश्वासअनुसार माता सीताले समेत यहाँ स्नान गर्ने गरेको उल्लेख पाइन्छ । यही कारण गेरुका नदीलाई मिथिलावासीले अत्यन्त पवित्र नदीका रूपमा मान्दै आएका छन् । विशेषगरी पुरुषोत्तम मासमा यस नदीमा स्नान गरे जानी–नजानी गरिएका पापबाट मुक्ति मिल्ने, मनोकामना पूरा हुने तथा अक्षय पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।

मेलाको शुभारम्भका अवसरमा आइतबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा भगवान् राम र माता सीताको स्वरुपलाई गेरुका नदीमा लगेर विशेष पूजा गरिएको थियो । वैदिक मन्त्र, शङ्खध्वनि र भजनकीर्तनबीच गरिएको धार्मिक अनुष्ठानले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो । श्रद्धालु भक्तजनले नदीमा स्नान गरी भगवान् पुरुषोत्तमको पूजा–आराधना गरेका थिए ।

स्थानीयवासी तपेश्वर यादवका अनुसार गेरुका धाममा मेला लाग्ने परम्परा सयौँ वर्ष पुरानो हो । कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा रहेको यस धाममा प्राचीनकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको जनविश्वास छ । मिथिला क्षेत्रका विभिन्न धार्मिक ग्रन्थ, लोककथा र जनश्रुतिमा समेत गेरुका धामको चर्चा पाइन्छ ।

मधेश प्रदेशका आठवटै जिल्लासहित छिमेकी भारतीय राज्य बिहारबाट समेत प्रत्येक दिन हजारौँ भक्तजन यहाँ पुग्ने गरेका छन् । मेला अवधिभर लाखौँ भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ । विशेषगरी आइतबार र मङ्गलबारलाई शुभ दिन मानिने भएकाले ती दिन अत्यधिक भीड लाग्ने गरेको स्थानीयवासी राघनी यादवले बताउँछ ।

स्थानीय पिपरारी निवासी ७० वर्षीय भिखारी मण्डलका अनुसार गेरुका स्नानप्रतिको जनआस्था अत्यन्त गहिरो छ । “यस स्थानको महत्व यति धेरै छ कि कुनै ठूलो प्रचार–प्रसार नगर्दासमेत लाखौँ श्रद्धालु यहाँ आउने गर्छ,” उनले भने, “मानिसहरू पुस्तौँदेखि परम्परागत रूपमा यहाँ आइरहेको छ । गेरुका स्नान गरे पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले मानिसलाई तानेर ल्याउँछ ।”

अर्का एक वृद्धले भने, “सरकारले व्यवस्थित ढङ्गले प्रचार–प्रसार, संरक्षण र पूर्वाधार विकास गर्न सके गेरुका धामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ । “भारतको कुम्भमेलाजस्तै ठूलो धार्मिक गन्तव्य बन्ने सम्भावना रहेकाले राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ ।”

वास्तवमा गेरुका धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता र सांस्कृतिक पहिचानको जीवित प्रतीक पनि हो । मिथिलाञ्चलको सांस्कृतिक जीवन नदी, पोखरी, मठ–मन्दिर र धार्मिक मेलासँग गहिरोसँग जोडिएको छ । गेरुका मेला पनि त्यही सांस्कृतिक निरन्तरताको महत्वपूर्ण हिस्सा हो ।

मेलाका बेला यहाँ केवल स्नान र पूजा मात्र हुँदैन, मिथिला संस्कृति, लोकपरम्परा र सामुदायिक जीवन पनि जीवन्त बन्छ । गाउँघरबाट परिवारसहित आएका श्रद्धालु नदी किनारमा भजन–कीर्तन गर्ने, साधुसन्तहरूको प्रवचन सुन्ने तथा सामूहिक पूजा गर्ने दृश्यले सम्पूर्ण क्षेत्रलाई धार्मिक उत्सवमा परिणत गरिदिन्छ ।

धार्मिक मेलाले स्थानीय अर्थतन्त्रलाई समेत ठूलो टेवा पु¥याउने गरेको वडाध्यक्ष श्यामप्रसाद यादव बताउँछन् । मेला अवधिभर अस्थायी बजार सञ्चालन हुने, पूजासामग्री, कपडा, भाँडाकुँडा, मिठाइ तथा स्थानीय परिकारको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् । स्थानीय होटल, यातायात व्यवसायी र साना व्यापारीलाई पनि मेलाले राम्रो आम्दानी दिने गरेको छ ।

महोत्तरी र धनुषा जिल्लाका ग्रामीण क्षेत्रका धेरै परिवारका लागि गेरुका मेला अतिरिक्त आम्दानीको अवसरसमेत बन्ने गरेको छ । स्थानीय महिलाहरूले घरमै बनाएका सामग्री बिक्री गर्ने गरेका छन् भने युवाहरू अस्थायी व्यवसाय सञ्चालन गरेर आम्दानी गर्ने गरेका छन् । यति ठूलो धार्मिक महत्व बोकेको गेरुका धाम अझै पनि आवश्यक पूर्वाधार विकासबाट वञ्चित रहेको स्थानीयवासीको गुनासो छ ।

मेलाका बेला लाखौँ श्रद्धालु आउने गरे पनि व्यवस्थित सडक, पार्किङ, खानेपानी, शौचालय, विश्रामस्थल तथा स्वास्थ्य सेवा पर्याप्त छैन । श्रद्धालु भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासनले अस्थायी प्रहरी सहायता कक्ष, स्वास्थ्य शिविर तथा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

लोहरपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्रकुमार यादवका अनुसार गेरुका धामको दीर्घकालीन विकासका लागि योजना तयार पार्ने विषयमा छलफल भइरहेको छ । धार्मिक पर्यटन प्रवद्र्धनमार्फत मधेश प्रदेशको आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पु¥याउने उद्देश्यले गेरुका क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको भने।

धार्मिक पर्यटनका दृष्टिले हेर्ने हो भने गेरुका धाम अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । जनकपुरधामस्थित जानकी मन्दिर, धनुषाधाम, जलेश्वरनाथ महादेव, कङ्कालिनी मन्दिरलगायत मधेशका प्रमुख धार्मिक स्थलसँग यसलाई जोडेर धार्मिक पर्यटन परिपथ निर्माण गर्न सकिने नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा। सोहन साहको सुझाव छ ।

मिथिला संस्कृतिका अध्येताहरूका अनुसार गेरुका धाम केवल धार्मिक स्थल मात्र होइन, मिथिलाको ऐतिहासिक स्मृति र सांस्कृतिक निरन्तरताको प्रतीक हो । यहाँ लाग्ने मेला सामूहिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको अभिव्यक्ति पनि हो । धर्म, संस्कृति र परम्पराले समाजलाई जोड्ने काम गर्छ । गेरुका मेला पनि त्यही सामाजिक एकताको सशक्त माध्यम बनेको छ । विभिन्न जिल्ला तथा समुदायका मानिसहरू एउटै आस्था बोकेर यहाँ भेला हुने गरेका विज्ञहरूको तर्क छ । यसले सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई बलियो बनाउने काम गरेको स्थानीय बुद्धिजीवीहरू बताउँछ ।

मिथिलामा पुरुषोत्तम मासलाई विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ । हिन्दू धर्मग्रन्थअनुसार अतिरिक्त महिना अर्थात मलमासलाई भगवान् विष्णुको पुरुषोत्तम स्वरुपसँग जोडेर हेर्ने गरिन्छ । यस अवधिमा स्नान, दान, पूजा र धार्मिक अनुष्ठान गरे विशेष पुण्य प्राप्त हुने विश्वास छ । यही कारण पुरुषोत्तम मास सुरु भएसँगै मिथिला क्षेत्रमा धार्मिक गतिविधि बढ्ने गरेका जानकार डा। भोगेन्द्र झाको भनाइ छ ।

गेरुका धाममा स्नान गर्न आउने धेरै श्रद्धालु भक्तजन आफूले मनोकामना पूरा भएको अनुभव सुनाउने गर्छ । कतिपय भक्तजन हरेक पुरुषोत्तम मासमा यहाँ आउने परम्परा निभाउँदै आएका छन् । वृद्धवृद्धादेखि युवायुवती र बालबालिकासम्मको सहभागिताले मेलालाई अझ जीवन्त बनाएको छ । गेरुका नदीको प्राकृतिक सौन्दर्य पनि आकर्षणको केन्द्र बनेको छ । हरियाली वातावरण, नदीको शान्त बहाव र धार्मिक वातावरणले यहाँ आउनेलाई आध्यात्मिक अनुभूति दिलाउने गरेको श्रद्धालुहरूको भनाइ छ ।

स्थानीयवासीहरूका अनुसार गेरुका धामको महत्व बढ्दै गए पनि यसको ऐतिहासिक तथा पुरातात्विक अध्ययन भने पर्याप्त हुन सकेको छैन । प्राचीन मिथिला सभ्यतासँग यसको सम्बन्धबारे विस्तृत अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ । विशेषज्ञहरूका अनुसार धार्मिक आस्थासँग जोडिएका यस्ता स्थलको संरक्षण केवल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक सम्पदाको संरक्षणका हिसाबले पनि महत्वपूर्ण हुन्छ । उचित संरक्षण र प्रवद्र्धन गर्न सके गेरुका धाम मधेश प्रदेशकै पहिचानका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ ।

आधुनिकता र प्रविधिको विस्तारसँगै मानिसको जीवनशैली परिवर्तन हुँदै गए पनि परम्परागत धार्मिक विश्वास र सांस्कृतिक सम्बन्ध भने अझै मजबुत रहेको यहाँको दृश्यले देखाउँछ । एक महिनासम्म सञ्चालन हुने गेरुका स्नान मेलाले धार्मिक वातावरणलाई मात्र होइन, सम्पूर्ण क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ । धार्मिक आस्था, मिथिला सभ्यता, सांस्कृतिक विरासत र जनविश्वासको अनुपम संगमका रूपमा रहेको गेरुका धाम अहिले फेरि लाखौँ श्रद्धालु भक्तजनको केन्द्र बनेको छ । -नीरञ्जनकुमार साह/रासस