३३ बुँदे एजेन्डासहित ऋषि धमला देश दौडाहामा, यस्तो छ कारण


काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आइतबार दिउँसो दृश्य अलि फरक थियो। विगत साढे तीन दशकदेखि मिडियाको पर्दा र माइकबाट नेताहरूलाई र्याखर्याख्ती पार्दै आएका चर्चित पत्रकार ऋषि धमला यसपटक आफैँ एउटा नयाँ मोर्चाको नेतृत्व गर्दै मञ्चमा उभिएका थिए। संसद् र सत्ताको राजनीतिक जोडघटाउभन्दा टाढा, तर राजनीतिलाई नै प्रभावित पार्ने महत्त्वाकांक्षासहित उनको अध्यक्षतामा ५१ सदस्यीय ‘‘स्वतन्त्र नागरिक अभियान नेपाल’ को औपचारिक घोषणा भएको छ।

हेमराज अधिकारी सचिव रहेको यो अभियानले ‘समयमै काम, तत्काल परिणाम’ को नारा मात्र बोकेको छैन, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक सहयोग र दबाब दिने रणनीतिक बाटोसमेत अख्तियार गरेको छ।

मुलुक गणतन्त्र दिवसको संघारमा उभिएका बेला राजनीतिक रूपमा एउटा शक्तिशाली ‘दबाब समूह’का रूपमा यो अभियानको उदय हुनु र यसले देश, जनता तथा विशेषगरी जेन्जी पुस्ताको भावना समेट्ने उद्घोष गर्नुले नेपाली राजनीतिको सामाजिक आयाममा नयाँ बहस छेडिदिएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार धमलाको प्रस्तुति सधैँझैँ आक्रामक र चोटिलो थियो। विगत ३५ वर्षमा देशले सुशासन, रोजगारी र विकासको अनुभूति गर्न नसकेको भन्दै उनले परम्परागत दलहरूको असफलताको फेहरिस्त नै प्रस्तुत गरे। उद्योगधन्दा बन्द हुनु, युवाहरू देश छोड्न बाध्य हुनु र भ्रष्टाचार संस्थागत हुनु पुराना दलहरूकै उपज भएको उनको ठहर थियो।

तर, यो अभियान सरकार ढाल्ने परम्परागत खेलमा लाग्ने देखिँदैन। धमलाले स्पष्ट शब्दमा भने, ‘हाम्रो अभियान सरकार ढाल्ने होइन, जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई सहयोग र दबाब दिने अभियान हो।’

अपार जनमतसहित बनेको शक्तिशाली र ‘एक्सन ओरिएन्टेड’ बालेन सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न दिनुपर्ने वकालत गर्दै अभियानले सरकारसँग ३३ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक गरेको छ। यद्यपि, यो समर्थन बिनासर्त भने छैन। सरकारको सय दिन पुगेपछि यसका काम–कारबाही र सय बुँदाको विस्तृत समीक्षा गर्ने घोषणा गरेर धमलाले आफूहरू सजग पहरेदार रहेको सन्देश दिएका छन्।

यो अभियानको सबैभन्दा बलियो र आधुनिक पक्ष भनेको यसले देशको नयाँ पुस्ता अर्थात् जेन्जीको भावनालाई समेट्ने प्रयास गर्नु हो। पछिल्लो समय प्रविधि, सामाजिक सञ्जाल र व्यवस्थाविरोधी आन्दोलनमा अग्रपंक्तिमा देखिने यो पुस्ता परम्परागत राजनीतिको साँचोमा अटाउन सकेको छैन।

अभियानले जेन्जी आन्दोलनका क्रममा भएका दमनको छानबिन, घाइते र मृतकका परिवारलाई न्याय, तथा निर्दोषहरूको तत्काल रिहाइको माग गरेको छ। ‘भ्रष्टाचारीलाई कडा कारबाही हुनुपर्छ भन्ने जेन्जी युवाहरूलाई म नमन गर्न चाहन्छु,’ धमलाको यो भनाइले नयाँ पुस्ताको आक्रोश र आकांक्षालाई आफ्नो शक्तिको रूपमा प्रयोग गर्ने अभियानको रणनीति देखिन्छ।

यसका साथै, मञ्चमा समाजका सीमान्तकृत समुदाय—शहीद परिवार, राउटे, चेपाङ र वादी समुदायको प्रतिनिधित्व गराइनुले अभियानले केवल शहरी मध्यमवर्गको मात्र नभई भुइँमान्छेको आवाज पनि उठाउन खोजेको स्पष्टतः देखिन्छ।

अभियानले सार्वजनिक गरेको ३३ बुँदे प्रतिबद्धता पत्रमा देशका समसामयिक र गम्भीर रोगहरूको ओखती खोज्ने प्रयास गरिएको छ। यसका केही बुँदाहरू निकै क्रान्तिकारी र बहसयोग्य छन्–

राजनीतिक र प्रशासनिक सुधार – स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने र प्रशासनिक खर्च घटाउन प्रदेशका मन्त्री र सांसदहरूको संख्या कटौती गर्नुपर्ने प्रस्ताव।

वित्तीय पारदर्शिता – ५० हजार रुपैयाँभन्दा माथिका सबै आर्थिक कारोबार अनिवार्य बैंकिङ प्रणालीमार्फत र ‘एक व्यक्ति, एक बैंक खाता’को नीति।

डिजिटल सुरक्षा र कडा कानुन– अनुमतिबिना व्यक्तिगत विवरण, फोटो वा भिडियो सामाजिक सञ्जालमा दुरुपयोग गरे ५ लाख जरिवाना र ३ वर्ष कैदको कानुनी व्यवस्था।

आर्थिक जवाफदेहिता– २०४६ सालपछिका सम्पूर्ण सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने लोकप्रिय एजेन्डा।

सामाजिक सुरक्षा र रोजगारी– मिटरब्याज र सहकारी पीडितको समस्या समाधान, हरेक पेशामा लाइसेन्स अनिवार्य र बन्द उद्योग सञ्चालन।

संसद्मा ५० प्रतिशत महिला सहभागिताको सुनिश्चितता र शिक्षा तथा स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्ने मागले नागरिकको मौलिक हकलाई जोडदार रूपमा उठाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आगामी बजेटमा विशेष ध्यान दिन र सरकारलाई संविधान संशोधनमा गम्भीर हुन दिइएको सुझाव समय सान्दर्भिक देखिन्छ।

काठमाडौँबाट सुरु भएको यो अभियानलाई देशका ७७ वटै जिल्ला र ७५३ वटै पालिकाको वडास्तरसम्म विस्तार गर्ने धमलाको योजना आफैँमा चुनौतीपूर्ण छ। समाजका बौद्धिक एवं सुशासनका अभियन्ताहरूको नैतिक समर्थन बटुल्न सफल यो अभियानले पक्कै पनि जनताको विश्वास जित्ने अपेक्षा लिइएको छ ।


प्रज्ञा प्रतिष्ठानको मञ्चबाट मानवअधिकारवादी नेता कृष्ण पहाडीले ऋषि धमलालाई यसरी शुभकामना दिए, ‘ऋषिजी ! तपाईं अहिंसा र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक अघि बढ्नुस्, इतिहास बनाउनुस्, मेरो शुभकामना छ ।’


ऋषि धमलाले मिडियाको शक्ति र आफ्नो देशव्यापी नेटवर्कलाई ‘नागरिक दबाब’ मा रूपान्तरण गर्ने एउटा नयाँ प्रयोग सुरु गरेका छन्। यो अभियानले उठाएका ३३ बुँदे व्यावहारिक एजेन्डाहरू जस्तै डिजिटल डाटा प्रणाली, कृषिमा आधुनिकीकरण र युवा उद्यमशीलता आदिमा सरकारलाई निरन्तर घच्घच्याइरह्यो भने यसले सरकारलाई मात्र बलियो बनाउने छैन, बरु मुलुकमा सुशासन र विधिको शासन स्थापनाका लागि एउटा नयाँ ‘नागरिक सेतु’ को काम गर्नेछ। जेन्जी पुस्ताको ऊर्जा र पुराना अभियन्ताहरूको अनुभवलाई सन्तुलनमा राखेर अघि बढ्नु नै ऋषि धमलाले थालेको यो अभियानको सफलताको कडी हुनेछ।