नेपालगन्ज, १२ जेठ । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले बताए । “भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन्”, उनले भने ।
अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताए । करिब ३० वर्ष पुरानो सल्लाको रुखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्त्व दिने गरिएको उहाँको भनाइ छ । सो सल्लाको आँख्ला डोटी, डडेलधुरा, बैतडीलगायत जिल्लाबाट नेपालगन्ज आउँछ ।
यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन । यी जडीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उनले बताए । अध्यक्ष शर्माले नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको औँल्याउँदै नेपालको घरघरमा जडीबुटीको उत्पादन भइरहेको बताए ।



प्रतिक्रिया