काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । नेकपा एमालेसँगको अघिल्लो सहमतिअनुसार अबको सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने निष्कर्ष निकाल्दै संसदीय दलले यस्तो निर्णय गरेको हो ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र त्यसका लागि एमालेको सहयोग खोज्ने निर्णय गरेको हो । बैठकमा कांग्रेसका सबै २७ जना सांसद उपस्थित थिए ।
बैठकले विगतमा कांग्रेस र एमालेबीच भएको आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीलाई अब कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएको छ । नेताहरूका अनुसार दुई दलबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि एमाले संसदीय दललाई आग्रह गर्नेसमेत कांग्रेसले निर्णय गरेको छ ।
दुई दलबीच भएको सहमतिकै आधारमा एमालेका चेतनारायण आचार्य २०८१ साउन ७ मा लुम्बिनीको मुख्यमन्त्री बनेका थिए । सहमतिअनुसार दुई दलबीचको कार्यतालिका कार्यान्वयन भएको भए योभन्दा पहिलै कांग्रेस नेतृत्वको सरकार गठन भइसक्नुपर्ने कांग्रेस नेताहरूको दाबी छ ।



प्रतिक्रिया