काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि कम भएको, ऐतिहासिक जिरी पदमार्ग इतिहासमा सीमित भएको र अत्यावश्यक सेवा लिन दुर्गम क्षेत्रका बासिन्दालाई कठिनाइ भएको बताइन् । सोही पार्टीका प्रकाश पाठकले सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि सहज उपचार पद्धति विकास गरिनुपर्ने बताए ।
रास्वपाकै मधुकुमार चौलागार्ईंले काभ्रे क्षेत्र नं १ का सडक बाटोहरू कालोपत्र हुन नसकेको विषयमा ध्यानाकर्षण गराए । रास्वपाका बुद्धिप्रसाद पन्तले वीरगञ्ज सहर राज्यलाई कर दिन अगाडि रहे पनि विकास निर्माणका पछि परेकाले त्यहाँको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकासमा ध्यान दिन माग गरे ।
सोही पार्टीका नरेन्द्र साह कलवारले भूमिहीन सुकुमवासीले अझैसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरे । सोही पार्टीका प्रमोदकुमार महतोले आधिकारिक निर्णयविना वन कार्यालयका प्रतिनिधि बस्तीमा पुगेर घर भत्काइने चेतावनी दिइएकामा चिन्ता व्यक्त गरे । सोही पार्टीका सुजाता तामाङले तापक्रम बढेर हिमाल निरन्तर पग्लँदा विपद्को जोखिम बढेकोतर्फ ध्यानाकर्षण गराइन् ।
रास्वपाकै जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित नागरिकहरू आफ्नै देशमा शरणार्थी हुन परेको गुनासो गरे । सोही पार्टीका बोधनारायण श्रेष्ठले धादिङमा निर्वाचन क्षेत्र १ र २ का केही पालिकालाई समावेश गरेर बृहत् पर्यटकीय क्षेत्र बनाउन खोजेकाले बजेट विनियोजन गर्न माग गरे ।
सोही पार्टीका ज्ञानेन्द्रसिंह महताले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै सुरक्षाकर्मी खटाउन नहुने सुझाव दिए । रास्वपाकै प्रशान्त उप्रेतीले मकवानपुरको मध्यवर्ती क्षेत्रका किसानको मानवीय र बाली संरक्षण चुनौतीपूर्ण भएको बताए ।
रास्वपाको बदनकुमार भण्डारीले संविधानमा माध्यमिक तहसम्म निःशुःल्क शिक्षा भनिए पनि निजी क्षेत्रमा जथाभावी शुल्क लिएकामा राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने टिप्पणी गरे । सोही पार्टी विधुशी राणाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र बनाउन माग गरिन् । रास्वपाका विश्वराज पोखरेलले ‘भिजिट नेपाल २०८५’ लाई सफल बनाउन ओखलढुङ्गाको पोकली झरनालगायत महत्वपूर्ण क्षेत्रमा पर्यटकीय विकास गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका सीता थपलियाले निर्माण सामग्रीको मूल्य निरन्तर वृद्धि हुँदा आयोजनाहरू प्रभावित हुनाका साथै निर्माण उद्योग प्रभावित भएकामा ध्यानाकर्षण गराइन् । सोही पार्टीका गीताकुमारी सेन्दाङले अहिले पनि महिलाहरु दाइजो र हिंसाको सिकार भइरहेको बताइन् ।
नेकपा (एमाले) का मोहम्मद इस्तियाक राईले भारतीय सीमा पारिबाट सर्वसाधारणले दैनिक जीवनका लागि ल्याउने सामान र कोसेलीसमेत भन्सार नाकामा सुरक्षाकर्मीले रोक्ने कार्य मानवीय हुन नसक्ने टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलालले स्थानीय तहमा हस्तान्तरण गरिएको वित्तीय समानीकरणको रकम कटौती नगर्न सङ्घीय सरकारसँग आगह गरे ।
श्रम संस्कृति पार्टीका आरेन राईले प्रतिनिसभा नियमावलीको भावना र मर्मबमोजिम प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे । सोही पार्टीका ध्रुवराज राईले बाँदर आतङ्कका कारण किसान समस्यामा परेकाले बाँदरलाई के गर्ने भनेर छलफल हुनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले सरकारले बनाएको संविधान संशोधन कार्यदलले आफ्नो पार्टीले उठाउँदै आएको सनातन हिन्दू राष्ट्रलगायतका मुद्दाबारे ध्यान दिइयोस् भनिन् ।
स्वतन्त्र सांसद महावीर पुनले दुरदराजमा सूचना प्रविधिको पहुँच विस्तारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । रासस



प्रतिक्रिया