पोखरा बहुमुखी क्याम्पसमा दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै


पोखरा । पोखरा बहुमुखी क्याम्पसले जेठ १५ र १६ गते दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुने भएको छ । क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदीयमान प्रवृत्तिहरू (पीएमसीएनसी–२०२६) सम्बन्धी राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

२०४४ सालमा टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको यस सामूहिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र समेत प्राप्त गरिसकेको सहप्राध्यापक भानु पराजुलीले बताए ।

विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोग तथा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, थाइल्याण्डको सिनावश्रा विश्वविद्यालय र मुक्त विश्वविद्यालय नेपालको सहकार्यमा यो कार्यक्रम हुन लागेको सहप्राध्यापक भीमप्रसाद न्यौपानेले जानकारी दिए ।

सामुदायिक क्याम्पसको रूपमा शैक्षिक गुणस्तर र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यस सम्मेलनमा नेपालसहित तीनवटा देशका ७ वटा विश्वविद्यालय र २१ वटा क्याम्पसका ९७ जना अनुसन्धानकर्ताहरूको सहभागिता हुनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विधाका कुल ५४ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गरिने कार्यक्रम रहेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रका विज्ञ र सामाजिक अगुवाहरू बीच व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा सरोकारवालाहरू बीच बहस र अन्तरक्रिया हुने बताइएको छ ।