दमौली (तनहुँ), १३ जेठ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता थियो ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालयका प्राविधिक कर्मचारीको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो । खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नाका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धिसम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
उनका अनुसार म्याग्दे गाउँपालिका–२ मा धान बालीमा मरुवा रोग देखिएको पाइएको छ । धानको वृद्धि प्रभावित हुने तथा बोट सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापन विधिबारे कृषकलाई जानकारी दिएको थियो ।
म्याग्दे गाउँपालिका–३ मा धान बालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उक्त किराले धानको बोटमा क्षति पु¥याई उत्पादनमा असर गर्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन किसानलाई सुझाव दिइएको परियारले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका–१ मा भने विभिन्न लहरे तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखिएको अनुगमन टोलीले पहिचान गरेको छ । विशेषगरी लौका, करेला, काँक्रालगायत बालीमा देखिएको उक्त रोगका कारण पात पहेँलो हुने, बोट कमजोर बन्ने तथा उत्पादन घट्ने समस्या देखिएको किसानले बताएका छन् । प्राविधिकहरूले रोग नियन्त्रणका लागि खेत व्यवस्थापन, उचित विषादी प्रयोग तथा सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।
अनुगमनका क्रममा किसानले यस वर्ष पर्याप्त वर्षा तथा मौसम प्रतिकूलताका कारण गत वर्षको तुलनामा उत्पादन घटेको गुनासो गरेका थिए । लगातारको वर्षा, असिना तथा हावाहुरीका कारण धान, तरकारी र मकै बाली प्रभावित भएको किसानको भनाइ थियो ।
किसानले विषादी प्रयोगसम्बन्धी अन्योल, समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुने समस्या तथा वर्णशङ्कर (हाइब्रिड) जातको कानुनी नियमनसम्बन्धी जिज्ञासा प्राविधिक टोलीसमक्ष राखेका थिए । उनीहरूले बजारमा पाइने बीउको गुणस्तर, विषादीको सही प्रयोग विधि र सरकारी नियमन प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
सूचना अधिकारी परियारका अनुसार अनुगमन टोलीले किसानसँग प्रत्यक्ष छलफल गर्दै समस्या समाधानका सम्भावित उपायबारे जानकारी गराएको छ । बाली संरक्षण, रोग तथा किराको पहिचान, सन्तुलित विषादी प्रयोग, माटो व्यवस्थापन तथा उत्पादन वृद्धिसम्बन्धी प्राविधिक पृष्ठपोषण दिइएको उनले बताए ।
“किसानले खेतबारीमै भोगिरहेका समस्या बुझेर समाधानका उपाय दिनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने, “प्राविधिक टोलीले रोग र किराको पहिचानसँगै तत्काल अपनाउनुपर्ने व्यवस्थापनका उपायबारे सुझाव दिएको छ ।”
कृषि विकास कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता संयुक्त प्राविधिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।



प्रतिक्रिया