संस्कृत विश्वविद्यालयको पदाधिकारीका लागि दरखास्त आह्वान


काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ । विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार एक सूचना प्रकाशित गर्दै खुला दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्दै पारदर्शीता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता कायम गर्न यसपटक विशेष कार्यविधि बनाएर पदाधिकारी छनोट गर्न लागिएको समितिले जनाएको छ ।

नयाँ कार्यविधिअनुसार उपकुलपति र शिक्षाध्यक्ष छनोटका लागि १०० पूर्णाङ्कको मूल्याङ्कन विधि तय गरिएको छ । जसमा उम्मेदवारको शैक्षिक योग्यता, प्रकाशित अनुसन्धानमूलक लेख, पुस्तक, प्रशासनिक अनुभव, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तालाई मुख्य आधार बनाइनेछ । मूल्याङ्कनका क्रममा कुनै उम्मेदवारलाई अत्यधिक कम वा धेरै अङ्क दिइएमा त्यसको स्पष्ट कारण खुलाउनुपर्ने व्यवस्था समेत कार्यविधिमा छ ।

प्रक्रियाअनुसार समितिले प्राप्त आवेदनहरूमध्ये उम्मेदवारको योग्यता, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उपलब्ध भएसम्म योग्यता क्रमअनुसार क्रमशः तीन–तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ ।

यस्तो छ योग्यताको मापदण्ड


उपकुलपति र शिक्षाध्यक्षका लागिः

मान्यता प्राप्त विश्वविद्यालयबाट अनिवार्य रूपमा विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्ने ।

कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने ।

उच्च नैतिक चरित्र भएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने ।

विश्वविद्यालय सम्बन्धी बढीमा ५ हजार शब्दको शोधपत्र र आफ्नो ४ वर्षे रणनीतिक कार्ययोजना पेस गर्नुपर्ने । साथै, लेखरचना प्रकाशन भएको भए सोको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ ।

कुलसचिवका लागिः

मान्यता प्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने ।

उच्च शिक्षामा प्राविधिक वा शैक्षिक प्रशासन अथवा अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको प्रमाणित अनुभव हुनुपर्ने ।