समसामयिक विषयमा राष्ट्रियसभाका सांसदद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा देखिएका समस्यालगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा सांसद चन्द्रबहादुर केसीले नेपालका गुल्मी, अर्घाखाँची र धनकुटालगायत १६ जिल्लाका किसान वन्यजन्तुबाट पीडित हुनुपरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराए।

सांसद जगत तिमिल्सिनाले भने, “त्रिभुवन विश्वविद्यालयमा विसं २०६५ पछि प्रवेश गरेका प्राध्यापक र कर्मचारी आज ४५ दिनदेखि अनिश्चितकालका लागि धर्नामा छन्, त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।” सांसद रञ्जित कर्णले स्वास्थ्य बिमा बोर्डले यही जेठ १६ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम निजी स्वास्थ्य संस्थानबाट स्थगत गरेको उल्लेख त्यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरे ।

उनले भने, “प्रत्येक वर्ष हुने प्राकृतिक प्रकोपका कारणले गर्दा ठूलो जनधनको क्षति भएको छ, विशेष गरी ६० प्रतिशत ग्रामिण क्षेत्रमा बाढी, ४० प्रतिशत पहिरो, १० प्रतिशत आगलागीले प्रभावित भएकाले ग्रामीण बस्तीलाई पनि वैज्ञानिक हिसाबले व्यवस्थित गरियोस् भन्ने माग गर्दछु ।”

सांसद रेखाकुमार झाले झापा, पर्सा र बाँके जिल्लाका सीमावर्ती क्षेत्रबाट लागुऔषधमा पक्राउ गरिएको प्रहरीको तथ्य प्रस्तुत गर्दै सीमा क्षेत्रमा हुने चोरी÷तस्करी रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रोशनी मेँचेले दीर्घकालीन समाधानको विकल्प दिएर मात्रै सुकुमवासीलाई बसिरहेको स्थानबाट हटाउनुपर्ने माग गरिन् । सांसद सम्झना देवकोटाले भनिन्, “हामीले शून्य समय र विशेष समयमा जनताका जस्ताबल्दा समस्या उठाउँछौँ, तर सरकारले त्यसको जवाफ दिएको छैन, हामी सधैँ नाजवाफ भएर फर्केका छौँ, सरकारले सभालाई महत्व नठानेको हो ? यसबारेमा सभाअध्यक्षको ध्यानाकर्षण गराउनुपर्छ ।”

सांसद सोमनाथ र्पोतेलले यही वैशाख ११ गतेको हुरीले पूर्वी नेपालमा केराखेतीमा ठूलो क्षति हुँदा किसानलाई साडे ती करोड घाटा भएको जनाउँदै किसानलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । रासस