आयोगको सिफारिसमाथि पौडेल र ‘रुटिन अफ नेपाल बन्द’ को आपत्ति


काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई भड्काउन आफ्नो वा आफ्नो संस्थाको कुनै पनि संलग्नता नरहेको ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले स्पष्ट पारेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको अनुसन्धानका लागि नाम सिफारिस गरेपछि पौडेलले आयोगको उक्त कदम बुझ्दै नबुझी हचुवाको भरमा चालिएको भन्दै आपत्ति जनाएका हुन् ।
पौडेलका अनुसार आन्दोलनका क्रममा ‘रुटिन अफ नेपाल बन्द’को आधिकारिक सामाजिक सञ्जाल पेजहरूबाट आन्दोलनलाई प्रोत्साहन गर्ने वा भड्काउने खालका कुनै पनि टीकाटिप्पणी वा सामग्रीहरू प्रकाशन गरिएका छैनन् ।

‘हामीले पेजमा जे–जति सूचनाहरू राख्यौँ, ती सबै प्रचलित कानुन र सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा अनुमति लिएर मात्र राखेका हौँ । आन्दोलन भड्काउने हाम्रो कुनै नियत थिएन र त्यस्ता सामग्री पोस्ट पनि भएका थिएनन्,’ पौडेलले स्पष्ट पारे ।

पौडेलले संस्थागत रूपमा मात्र नभई व्यक्तिगत तवरमा समेत आफू सो आन्दोलनबाट पूर्ण रूपमा टाढा रहेको बताएका छन् । उनले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालहरूमा समेत जेनजी आन्दोलनका विषयमा कुनै पनि भड्काउने कुरा उल्लेख नगरेको जानकारी दिएका छन् ।

आफू स्वयंले आन्दोलनका विषयमा कतै पनि कुनै वक्तव्य वा अभिव्यक्ति नदिएको अवस्थामा आयोगले विनाआधार नाम जोडेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले स्थलगत वास्तविकता र सञ्चार माध्यमहरूको भूमिकाको सही मूल्याङ्कन नगरी हचुवाको भरमा आफूलाई अनुसन्धानको दायरामा ल्याउन खोजेको पौडेलको भनाइ छ ।

आन्दोलन र त्यसको पृष्ठभूमिमा कुनै पनि भूमिका नदेखिएका व्यक्ति तथा स्थापित सूचना–माध्यमका सञ्चालकलाई विना प्रमाण विवादमा तान्न खोज्नु आपत्तिजनक रहेको पौडेलले प्रस्ट पारेका छन् ।