काठमाडौं, जेठ १४ । सरकारले इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान माग गरेको हो ।
मन्त्रालयले आवेदनका लागि सात पृष्ठ लामो कार्यविधि सार्वजनिक गरेको छ । सरकारको ‘योग्यतामा आधारित नियुक्ति’ र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीतिअनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ (२०७९ मा संशोधित) अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ । यी प्रावधानले राजदूत, स्थायी प्रतिनिधि र विशेषदूतको नियुक्ति, जिम्मेवारी र कार्यकाललाई नियमन गर्छन् ।
कार्यविधि अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेणीसरह हुनेछ र कार्यकाल चार वर्षको हुनेछ । आवेदन दिने अन्तिम म्याद जेठ २२ गतेसम्मलाई तोकिएको छ । हाल १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन् भने भदौ आधासम्ममा थप सात नियोग खाली हुनेछन् ।
यसअघि नेपालमा राजदूत नियुक्ति राजनीतिक कोटा र परराष्ट्र सेवाका करिअर डिप्लोम्याटबीच आधा–आधा बाँडिने गरेको थियो । सरकारले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरबलगायत मुलुक तथा अन्तर्राष्ट्रिय संस्थामा नियुक्तिको लागि दरखास्थ आह्वान गरेको हो ।



प्रतिक्रिया