काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।
“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”, उनले भने ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भने ।
उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।
“युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका सम्वाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ थियो ।
साथै, कृृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्याएको उनले बताए ।
“कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्नसके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उनले भने ।
उनले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचनाप्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार हो भने ।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्ने बताए । उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहान गर्नुपर्नेमा जोड दिए ।
उनले सोह्रौँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए ।
“यसमा लगानीको सुनिश्चितता गर्न सस्तो व्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ, मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीतिनिर्माता तथा योजनाविद् र सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ”, राष्ट्रपति पौडेलले भने ।
विदेशबाट फर्किएका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ भन्दै उनले कृषकको उपजको बजारीकरण, समयमानै बीउबिजन र मलको आपूर्ति, कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषय भएको उल्लेख गरे ।
सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रूपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे।



प्रतिक्रिया