सामाजिक सुरक्षा, नागरिक लगानी र सञ्चय कोषको रकम स्वास्थ्य तथा शिक्षा पूर्वाधारमा लगानी गरिने


काठमाडौँ । सरकारले मुलुकका ठूला सार्वजनिक कोषहरूमा थुप्रिएर रहेको लगानीयोग्य रकमलाई सामाजिक पूर्वाधार निर्माणमा परिचालन गर्ने नीति लिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको रकमलाई स्वास्थ्य र शिक्षा क्षेत्रको दीर्घकालीन विकासमा लगाउने घोषणा गरेका हुन् ।

विगत लामो समयदेखि यी तीनवटै ठूला कोषको खर्बौँ रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र सरकारी ऋणपत्रमा मात्र सीमित हुँदा त्यसको अपेक्षित प्रतिफल र आर्थिक योगदान देखिन सकेको थिएन । सरकारको यो नयाँ नीतिसँगै अब उक्त पूँजीलाई देशको जग बलियो बनाउने रणनीतिक क्षेत्रमा मोडिने भएको छ ।

यो कदमबाट एकातिर मुलुकभर आधुनिक स्वास्थ्य पूर्वाधार र गुणस्तरीय शैक्षिक संस्थाहरूको विकास भई नागरिकले विशिष्टीकृत सेवा पाउनेछन् भने अर्कोतिर कोषहरूको रकमले उत्पादनशील र सुरक्षित क्षेत्रमा लगानीको नयाँ अवसर पाउने विश्वास सरकारले लिएको छ ।