तीन वर्षभित्र ८ शहरमा आधुनिक क्रिकेट रंगशाला


काठमाडौँ । सरकारले देशको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको व्यावसायिकतालाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षका लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली क्रिकेटको बढ्दो क्रेज र खेलाडीहरूको प्रदर्शनलाई प्रोत्साहन गर्न पूर्वाधार विकासमा उक्त घोषणा गरेका हुन् ।

सरकारले देशका विभिन्न ८ वटा प्रमुख सहरहरूमा आगामी ३ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सक्ने गरी क्रिकेट पूर्वाधारको विकासलाई प्राथमिकता दिइने बताए ।

यसका साथै, क्रिकेटबाहेक अन्य विधाका खेलहरूलाई समेट्न बहुउद्देश्यीय कभरहल निर्माणको योजना पनि बजेटमा समेटिएको छ । अर्थमन्त्री डा. वाग्लेका अनुसार देशका ७ वटा प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रहरू— विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा २ हजार दर्शक क्षमताका अत्याधुनिक इन्डोर मल्टिप्रपोज रंगशालाहरू निर्माण गरिनेछ ।