सरकारी कर्मचारीको तलब वृद्धि


काठमाडौँ । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायत सम्पूर्ण सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको खरिद शक्ति कायम राख्न र कार्यक्षमता बढाउन तलब वृद्धिको घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीहरूले खाइपाइ आएको महँगी भत्तालाई समेत परिमार्जनसहित निरन्तरता दिने बताए । जसअनुसार साविकको महँगी भत्तालाई यथावत् राख्दै थप १० प्रतिशतले महँगी भत्ता वृद्धि गरिएको छ । लामो समयदेखि मूल्यवृद्धिको अनुपातमा तलब नबढेको भन्दै सरकारी कर्मचारीहरूले तलब बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।

“बढ्दो महँगी र बजार मूल्यलाई दृष्टिगत गर्दै सरकारी सेवामा रहेका कर्मचारी, सुरक्षा निकाय तथा शिक्षकहरूको मनोबल उच्च बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन आगामी साउन १ गतेदेखि लागू हुने गरी सुरु तलबमानमा २१ प्रतिशतले वृद्धि गरिएको छ,” अर्थमन्त्री डा. वाग्लेले संसद्‌मा भने, “साथै, मौजुदा महँगी भत्तामा १० प्रतिशत थप गरी निरन्तरता दिने व्यवस्था मिलाएको छु ।”

सरकारको यो घोषणासँगै तल्लो तहदेखि माथिल्लो तहसम्मका करिब ५ लाखभन्दा बढी सरकारी राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । तलब र भत्ताको यो वृद्धिले राष्ट्रसेवकहरूलाई भ्रष्टाचारमुक्त र नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुन मद्दत पुग्ने सरकारको विश्वास छ ।