सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढायाे : वर्षमान पुन


काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले अस्वाभाविक रूपमा बजेटको आकार बढाएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दलले जनमत प्रभावित गर्ने उद्देश्यले बजेटमार्फत वितरणमुखी कार्यक्रम अघि सारेको आरोप पनि लगाए । पुराना दलविरुद्धको जनमत सधैँ कायम नहुन सक्ने मनोविज्ञानका आधारमा वितरणमुखी बजेट ल्याइएको उनको आरोप छ ।

उनले भने बजेट अस्वाभाविक रूपमा बढाएर ल्याइएको छ । यो वितरणमुखी देखियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकार र सत्तारुढ दलको मनोविज्ञान सधैँ पुराना दलविरुद्धको जनमत नहुन सक्छ । हामीले काम गर्नुपर्छ भनेर बजेट वितरण गरेको खण्डमा स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । अर्को कुरा मुलुकको दुई तिहाइ जनसङ्ख्या निर्भर रहेको कृषि क्षेत्रको सुधारको लागि उल्लेख्य कार्यक्रम आएन । युवाहरूलाई रोजगारी सिर्जनाको कुरा गरेर सत्तामा आएको पार्टीले कार्यक्रममा भने केही पनि ल्याउन सकेन । अहिले ऋण लिएर घिउ खानेजस्तो आएको छ । बजेट रास्वपाको वाचाविपरित छ ।’