बालेनको अभिव्यक्ति लगत्तै दिल्ली उडेका रविको कूटनीतिक अग्निपरीक्षा


काठमाडौँ । ‘सँगै सुत्दा गोडा लाग्छ’ भन्ने नेपाली उखान नेपाल–भारत सम्बन्धको हकमा सधैँ सान्दर्भिक देखिँदै आएको छ। शदीयौँदेखिको जनस्तरको न्यानो सम्बन्धका माझ दुई देशबीच समय–समयमा सीमा विवादका तिक्तताहरू सतहमा आउने गरेका छन्। इतिहासका प्रमाण, तथ्य र दस्तावेजहरूलाई संवादको टेबलमा राखेर कूटनीतिक माध्यमबाट हल खोज्नु नै दुवै छिमेकीका लागि परिपक्व र बुद्धिमानी कदम हुन्छ।


तर, पछिल्ला केही दिनयता काठमाडौँदेखि नयाँदिल्लीसम्म विकसित भएका राजनीतिक घटनाक्रम र अभिव्यक्तिहरूले दुई देशको कूटनीतिक वातावरणलाई थप जटिल, तरंगित र संशयपूर्ण बनाइदिएका छन्।


प्रम बालेनको सीमासम्बन्धी अभिव्यक्तिले नयाँ तरंग


काठमाडौँको सत्ता राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको एउटा अभिव्यक्तिले नेपाल र भारतमा समेत ठूलो तरंग ल्याइदिएको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सदनमा सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। देशको कार्यकारी प्रमुखले यस्तो अभिव्यक्ति दिएपछि राजनीतिक र कूटनीतिक वृत्तमा यसको चर्को आलोचना र बहस सुरु भएको छ।


प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि लिएर अन्य दलहरूले समेत यसलाई ‘राष्ट्रघाती’ कदमको संज्ञा दिएका छन्।आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीत भएको उल्लेख गरे। देशको कार्यकारी प्रमुखले ऐतिहासिक तथ्यबिना राष्ट्रिय हित प्रतिकूल हुने गरी दिएको यस्तो अभिव्यक्ति अक्षम्य हुने कांग्रेसको ठहर छ।


यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिकालाई लिएर कडा विरोध गरेका छन्। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको दाबी गम्भीर, दुःखद् र गलत भएको साम्पाङले उल्लेख गरेका छन् । साम्पाङले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणकै पूर्वसन्ध्यामा दिल्लीलाई रिझाउने प्रपञ्चस्वरूप प्रधानमन्त्रीबाट यस्तो बयान आएको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्।


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापतिको भारत भ्रमणको ठीक अगाडि प्रधानमन्त्रीबाट विवादित अभिव्यक्ति आउनु निकै अर्थपूर्ण र शंकास्पद रहेको टिप्पणी गरेका छन्।


नयाँदिल्लीको चासो


प्रधानमन्त्री बालेन शाहको उक्त अभिव्यक्ति अब नेपालमा मात्र सीमित रहेन। भारतीय सञ्चारमाध्यमहरूले पनि यसलाई मुख्य समाचार बनाएर विशेष महत्वका साथ स्थान दिएका छन्। भारतीय मिडियाहरू जस्तै– ’टाइम्स अफ इन्डिया’, ‘नवभारत टाइम्स’ र प्रमुख डिजिटल न्यूज च्यानलहरूले प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई ‘नेपालले पहिलोपटक भारतको जमिन कब्जा गरेको कुरा आफैँ स्वीकार गर्‍यो’ भन्ने कोणबाट व्याख्या गरिरहेका छन्।


भारतीय सञ्चारमाध्यमहरूले रास्वपा सभापति रवि लामिछानेको नयाँदिल्ली आगमनको ठीक अघि आएको यो अभिव्यक्तिलाई विशेष चासोका साथ हेरेका छन्। केही भारतीय थिंक–ट्यांकहरूले यसलाई ‘नेपालको नयाँ सत्ता गठबन्धन भारतसँग सम्बन्ध सुधार्न लचिलो बन्न खोजेको संकेत’का रूपमा समेत विश्लेषण गरेका छन्।


यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत भ्रमणमा गएका छन्। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणमा उनको टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सामेल छन्। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ भने भाजपा मुख्यालयमा भाजपाअध्यक्ष नीतिन नवीनबाट स्वागत ग्रहण गर्ने तालिका छ।तर, प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिको पृष्ठभूमिमा रवि लामिछानेको यो भ्रमण अब विवादरहित बन्न नसक्ने निश्चित प्रायः भएको छ।


प्रधानमन्त्री बालेनको अभिव्यक्तिको जगमा भएको रविको भारत भ्रमणलाई लिएर नेपालका विपक्षी दलहरूले रास्वपालाई ‘दिल्लीको एजेन्डा बोकेको’ आरोप लगाउन सुरु गरिसकेका छन्। हर्क साम्पाङलगायतका नेताहरूले उठाएको ‘भारतलाई रिझाउने खेल’ भन्ने भाष्यले रविको भ्रमणमाथि नैतिक प्रश्न उठाएको छ।


भारतमा रविसँगको भेटमा भारतीय पक्षले प्रधानमन्त्री बालेन शाहकै बयानलाई आधार बनाएर सीमा समस्यामा नेपालको आन्तरिक मत विभाजित रहेको उल्लेख गर्न सक्छ । यदि रविले सीमा विवादबारे दह्रो कुरा राखे भारत चिढिने, नराखे नेपालमा आत्मसमर्पण गरेको’ आरोप लाग्ने हुनाले उनको यो भ्रमण कूटनीतिक रूपमा विवादको भुमरीमा फसेको छ।
नेपालका प्रधानमन्त्री बालेनले भारतीय विदेश सचिव विक्रम मिश्री र अमेरिकी दूत सर्जिओ गोरलाई भेट्न अस्वीकार गरेर कूटनीतिक ढोका बन्द गर्ने तर सत्ताको प्रमुख हिस्सेदार रास्वपाका सभापति भने ‘रेड कार्पेट’मा दिल्ली ओर्लने यो विरोधाभासपूर्ण नीतिले नेपालको परराष्ट्र नीतिमा रहेको गम्भीर मतभेद र संस्थागत कमजोरीलाई अन्तर्राष्ट्रिय मञ्चमा छताछुल्ल पारेको छ।


भारतको राजनीतिक वृत्तमा अहिले सबैभन्दा ठूलो चासो सीमा विवाद र बदलिँदो कूटनीतिक परिदृश्यमा रवि लामिछानेले नयाँदिल्लीमा कस्तो अडान राख्लान् भन्नेमा केन्द्रित छ। नयाँ, ऊर्जावान् शक्तिशाली दल र प्रतिनिधिसभाको बलियो साँचो लिएर बसेका शक्तिका रूपमा दिल्लीले रविलाई विशिष्ट महत्व त दिएको छ, तर नेपालको राष्ट्रिय हितका लागि रविले यो भ्रमणलाई केवल ‘रातो कार्पेट’को आतिथ्यमा मात्र सीमित नगरी सीमासँगै अन्य केही महत्त्वपूर्ण विषयहरुलाई पनि उठाउनुपर्नेमा परराष्ट्रविद्हरुले जोड दिएका छन् । ती हुन्–


विद्युत् व्यापार र क्रस बोर्डर सहजता


नेपालमा वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् भारत र बंगलादेशको बजारसम्म सहज, बाधारहित र दीर्घकालीन रूपमा निर्यात गर्न भारतीय पक्षको क्रस बोर्डर जलविद्युत् निर्देशिकाका कूटनीतिक अड्चनहरू फुकाउन रविले पहल गर्नुपर्नेछ ।


व्यापारिक विभेदको अन्त्य


भारतबाट आउने सामान नेपालमा बिनाअवरोध भित्रिने तर नेपालका कृषिजन्य, जडीबुटी र औद्योगिक उत्पादनहरू भारत जाँदा क्वारेन्टिन र अनेक प्राविधिक बहानामा रोकिने ‘एकतर्फी व्यापारिक विभेद’ अन्त्यका लागि रविले बलियो राजनीतिक पैरवी गर्नुपर्ने खाँचो छ ।


पर्यावरण र वन्यजन्तु संरक्षण


चितवन र पर्सा वन्यजन्तु आरक्ष तथा भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएकाले वन्यजन्तुको अवैध चोरीनिकासी नियन्त्रण र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे ‘साझा दक्षिण एसियाली आवाज’ निर्माण गर्न रविले सहकार्य गर्नुपर्ने खाँचो पनि विज्ञहरुले औँल्याएका छन्


त्यस्तै, रास्वपाको मूल नारा सुशासन र डिजिटल प्रविधि भएकाले भारतले आईटी, यूपीआई र डिजिटल पेमेन्टमा हासिल गरेको विश्वस्तरीय प्रविधि र ज्ञान नेपालको प्रशासनिक झमेला हटाउन हस्तान्तरण गर्ने गरी द्विपक्षीय सम्झौताको जग बसाल्न रविले भूमिका खेल्नुपर्ने सुझाव पनि विज्ञहरुले दिएका छन् ।


नेपाल र भारतबीच सांस्कृतिक तथा धार्मिक सामीप्य जतिसुकै प्रगाढ भए पनि राजनीतिक र कूटनीतिक सम्बन्ध स्थापित तथ्य र प्रमाणका आधारमा मात्र सञ्चालन हुनुपर्छ।


प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलगत्तै रास्वपा सभापति रवि लामिछानेको दिल्ली यात्रा सुरु भएको छ। उनको यो भ्रमण केवल दिल्लीको ‘रातो कार्पेट’को न्यानो आतिथ्य सत्कारमा रमाएर फोटो सेसनमा मात्र टुङ्गिन्छ कि राष्ट्रिय हित, व्यापारिक सन्तुलन र सीमा समस्यामा ऐतिहासिक प्रमाणका आधारमा संवाद गर्ने परिपक्व कूटनीतिको सुरुवात हुन्छ ? त्यो भने रविको दिल्ली बसाइको कार्यकुशलता र आगामी केही दिनको राजनीतिक कोर्षले नै तय गर्नेछ। घरेलु लोकप्रियताको जगमा उभिएका रास्वपा सभापति रविका लागि यो भ्रमण परिपक्व र दूरदर्शी कूटनीतिज्ञ बन्ने कि कूटनीतिक भूलको शिकार बन्ने भन्ने ऐतिहासिक अग्निपरीक्षा समेत हो।