काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर नेपाल विद्यार्थी संघले सिंहदरबारको मुख्य गेटअगाडि विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै नेविसंघले बुधबार सिंहदरबार अगाडि नाराबाजीसहित प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको उक्त भनाइले राष्ट्रियतामाथि आँच पुर्याएको भन्दै नेविसंघका नेता–कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नेविसंघका ६ जना नेताहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्यहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन् ।
प्रहरीले पक्राउ परेका सबै नेताहरूलाई सिंहदरबार वृत्तबाट भद्रकालीस्थित काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगेर राखेको छ । नेविसंघले आफ्ना नेताहरूलाई तत्काल बिनाशर्त रिहा गर्न माग गर्दै प्रधानमन्त्री बालेनले आफ्नो भनाइ फिर्ता लिनुपर्ने अडान राखेको छ ।



प्रतिक्रिया