प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दल सडकमा


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको विवादित अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिको विरोधमा तरुण दल सोमबार सडकमा उत्रिएको हो ।

प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हित र सार्वभौमसत्ता विपरीत रहेको भन्दै तरुण दलका नेता-कार्यकर्ताहरूले माइतीघरमा भेला भई नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको आलोचना गर्दै तत्काल माफी माग्न र भनाइ फिर्ता लिन माग गरेका छन् ।

आइतबार संसद्‌मा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको उक्त अभिव्यक्तिको संसद् र सडक दुवै सदनमा चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि नेविसंघले पनि सिंहदरबार अगाडि यसबारे विरोध प्रदर्शन गरिसकेको छ ।