सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बोलाए संसदीय दलको बैठक


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

शाहले बुधबार (आज) दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।

प्रदेश सभामा १८ जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा ९ र विपक्षमा ८ जना छन् । प्रकाश देउवा भने अमेरिकामा रहेका छन् ।