पत्रकारिताको शिखरमा पुगेका धमलाको देश रूपान्तरणको रहर


काठमाडौँ । नेपाली सञ्चार जगत्‌मा एउटा यस्तो नाम छ, जसको गर्जनले सिंहदरबार हल्लिन्छ, जसको एउटै प्रश्नले सत्ताको जग हल्लाउँछ र जसको चौबीसै घण्टाको अनवरत खटाइले देशको राजनीतिलाई दिशा निर्देश गर्छ। हो, उनी हुन्- नेपाली पत्रकारिताका महानायक, ऊर्जाका प्रतिमूर्ति र आम नेपालीका ढुकढुकी चर्चित पत्रकार ऋषि धमला।

विगत लामो समयदेखि पत्रकारिताको माध्यमबाट अहोरात्र देश र जनताको निःस्वार्थ सेवा गर्दै आएका धमलाले अब पत्रकारिताको चौघेराभित्र मात्र सीमित नभएर देशलाई प्रत्यक्ष रूपान्तरण गर्ने एउटा ऐतिहासिक कदम चालेका छन्। देश संकटको भुमरीमा फसेको, जनताले न्याय नपाएको र राज्य प्रणाली दिशाहीन बनेको यो गम्भीर मोडमा धमलाको अध्यक्षतामा केही समयअघि ‘स्वतन्त्र नागरिक अभियान नेपाल’को गठन भएको छ। यो केवल एउटा अभियान होइन, यो त नेपालको इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी महाआन्दोलन हो। अहिले यो अभियान विभिन्न क्रान्तिकारी एजेन्डाहरू बोकेर देशैभरि तीव्र गतिमा संगठन विस्तार गर्दै अघि बढेको छ।

किन अघि बढे ऋषि धमला ?
ऋषि धमला त्यो व्यक्तित्व हो, जो जनताको सुख–दुःखलाई नजिकबाट केलाउन खप्पिस छ। सिंहदरबारको उच्च ओहदादेखि गाउँका गरिबको झुपडीसम्म धमलाको उत्तिकै पहुँच र प्रभाव छ। पत्रकारितामार्फत उनले सधैं राज्यलाई घच्घच्याए । तर जब राजनीतिक दलहरूले केवल कुर्सीको खेल मात्र खेले र जनताका आधारभूत आवश्यकतालाई भुले, तब देशका सच्चा पहरेदार धमला आफैं मैदानमा उत्रनुको विकल्प रहेन।

वास्तवमै धमलाले अघि सारेका ३३ बुँदे एजेन्डाहरू केलाउँदा यो स्पष्ट हुन्छ कि उनले देश र जनताको पक्षमा सर्वाङ्गीण हित हुने र नेपाललाई संसारकै समृद्ध मुलुक बनाउने गुरुयोजना तयार पारेका छन्। यस अभियानका केही एजेन्डा मात्रै कार्यान्वयन हुन सके पनि समाजमा धेरै सुधार हुनेछ । जस्तो–

निर्दलीय स्थानीय निर्वाचन र राजनीतिक शुद्धीकरण
स्थानीय तहमा दलगत राजनीतिका कारण विकास निर्माण ठप्प भएको र समाज विभाजित भएको तथ्य कसैसामु छिपेको छैन। पत्रकार धमलाले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने एजेन्डा अघि सारेर देशलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउने प्रयास गरेका छन्। स्थानीय सरकार दलविहीन हुँदा गाउँ–गाउँमा वास्तविक विकास हुनेछ, भ्रष्टाचार रोकिनेछ र जनताले दलीय पूर्वाग्रहविना सेवा पाउनेछन्।

सामाजिक न्याय र विपन्नको उत्थान
धमला सधैं गरिब, दुःखी र पीडितको आवाज बन्दै आएका व्यक्तित्व हुन् । उनको यो अभियानलाई केलाउँदा यस्तो निष्कर्ष निकाल्न सकिन्छः

सुकुम्बासी र भूमिहीनलाई लालपूर्जासहित गाँस, बास, कपासको मौलिक हक ग्यारेन्टी गर्ने।

मिटरब्याज र सहकारी, लघुवित्त पीडितहरूलाई न्याय दिलाउँदै उनीहरूको गुमेको रकम फिर्ता गराउने र दोषीलाई कडा कारबाही गर्ने।

जेनजी आन्दोलनका घाइते तथा बन्दीहरूलाई न्याय, राहत र सुरक्षा दिने।

सडक दुर्घटनाका मजदुर परिवारलाई राज्यले विशेष सामाजिक सुरक्षा दिने व्यवस्था गर्ने।
समाजमा वर्षौंदेखि शोषित वर्गले न्याय पाउने।

सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिन
नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो। धमलाले यस रोगको निर्मूल पार्न ऐतिहासिक एजेन्डा ल्याएका छन्- २०४६ सालपछिका सम्पूर्ण सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने। यो कदम लागू हुनासाथ नेपालबाट भ्रष्टाचार अन्त्य हुनेछ। साथै राजस्व चुहावट नियन्त्रण भई राज्यको ढुकुटी बलियो हुनेछ।

डिजिटल क्रान्ति, वित्तीय पारदर्शिता र नागरिक गोपनीयता
आधुनिक प्रविधिका पारखी धमलाले नेपाललाई डिजिटल युगमा लैजाने स्पष्ट खाका पनि कोरेका छन् । जस्तोः

५० हजारभन्दा माथिको कारोबार बैंकिङ प्रणालीमार्फत अनिवार्य गर्दा कालोधन स्वतः अन्त्य हुनेछ।

– ‘एक व्यक्ति, एक बैंक खाता’ले आर्थिक पारदर्शिता ल्याउनेछ।

– एकीकृत डिजिटल डाटा प्रणाली र प्रविधिमा आधारित नागरिक गुनासो समाधान प्रणालीले प्रशासनिक झन्झट अन्त्य गर्नेछ।

सामाजिक सञ्जालमा कसैको अनुमतिविना फोटो र भिडियो दुरुपयोग गर्नेलाई ५ लाख जरिवाना र ३ वर्ष कैदको कडा व्यवस्थाले नागरिकको गोपनीयता र सामाजिक सद्भाव अक्षुण्ण राख्नेछ।

स्वास्थ्य, शिक्षा र व्यावसायिक योग्यतामा क्रान्ति
धमलाको दृष्टि हरेक नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छ। हरेक पेशामा लाइसेन्स अनिवार्य गर्दा कार्यक्षमता र गुणस्तर बढ्नेछ। निःशुल्क गुणस्तरीय सरकारी शिक्षा र स्वास्थ्यको ग्यारेन्टीका साथै प्रत्येक प्रदेशमा निःसन्तान दम्पतीका लागि निःशुल्क उपचार गर्ने आम अस्पताल स्थापना गर्ने मानवतावादी एजेन्डाले स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति ल्याउने निश्चित छ।

युवा उद्यमशीलता, स्वदेशी उत्पादन र रोजगार क्रान्ति
नेपाली युवाहरू खाडीमा रगत बगाउन बाध्य भएको दृश्यले देशप्रेमी पत्रकार एवं अभियन्ता धमलाको मन सधैं रुने गरेको छ। त्यसैले उनले–

–युवाहरूलाई उद्योग सुरु गर्न २५ जनासम्मको समूहलाई २५ लाख रुपैयाँसम्म विनाधितो ऋण उपलब्ध गराउने,

बन्द उद्योगधन्दा र कलकारखाना पुनः सञ्चालन गरी लाखौं रोजगारी सिर्जना गर्ने,

वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको उद्धार र स्वदेशमै आत्मनिर्भर जीवनको ग्यारेन्टी गर्ने,

– कृषि र आवास क्षेत्र स्पष्टरूपमा छुट्याई कृषिको आधुनिकीकरण गर्ने र वस्तुको मूल्य पारदर्शी बनाउने नीति ल्याएका छन्।

समावेशी अधिकार र द्रुत न्याय
श्रमिक, महिला, दलित, मधेसी, आदिवासी, मुस्लिम र पिछडिएका समुदायको अधिकार रक्षा गर्दै समयसीमा तोकेर छिटो र जनमैत्री न्याय प्रणाली विकास गर्ने धमलाको अठोटले देशमा वास्तविक कानुनी राज्यको स्थापना गर्नेछ।

अभियानमा जोडिनु नै राष्ट्रभक्ति
स्वतन्त्र नागरिक अभियान कुनै सानो-तिनो झुण्ड होइन, यो त देशका कुना–काप्चामा गुञ्जिरहेको परिवर्तनको आवाज हो। ऋषि धमलाजस्तो ऊर्जावान्, साहसी, दूरदर्शी र जतिसुकै चुनौती आए पनि देश र जनताका लागि लड्न तयार हुने महानायकको नेतृत्व पाउनु यो अभियान र समग्र राष्ट्रकै लागि पनि अहोभाग्य हो।

धमला र उनको अभियानले अघि सारेका ३३ वटै बुँदाहरू देशलाई समृद्धिको दिशामा लैजाने अचूक औषधि हुन्। यो अभियानले समाजमा समानता, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानको नयाँ युग सुरुवात गर्नेछ।

‘स्वतन्त्र नागरिक अभियान नेपाल’ले अहिले देशका ७७ वटै जिल्लामा आफ्नो शक्तिशाली संगठन विस्तार गर्दैछ। देश बनाउने यो ऐतिहासिक महाअभियानमा ऋषि धमलाको हात बलियो बनाउन र आफ्नो देशको भविष्य सुन्दर बनाउन इच्छुक सम्पूर्ण देशभक्त, युवा, बुद्धिजीवी र आम नागरिकले तुरुन्त सम्पर्क गरी अभियानमा जोडिएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्न आवश्यक देखिन्छ ।