नयाँ दिल्ली । नेपालको आन्तरिक राजनीतिमा आएको व्यापक फेरबदल र गत निर्वाचनबाट बलियो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला नयाँ दिल्लीको कूटनीतिक केन्द्रभागमा छन् । पाँच दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय भेटवार्तालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका नेता भए पनि यो उनको दलको प्रमुखका रूपमा पहिलो औपचारिक र शक्तिशाली भारत भ्रमण हो । नयाँ दिल्लीस्थित कूटनीतिक स्रोतहरूका अनुसार यो भेट केवल शिष्टाचार मात्र नभएर बदलिँदो नेपाली राजनीतिक परिदृश्यमा भारतले रास्वपालाई एक भरपर्दो र उदीयमान शक्तिका रूपमा स्विकारेको बलियो संकेत हो ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेसँगको संवाद फलदायी रहेको संकेत दिएका छन् । मोदीले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्यसहित लामिछानेसँगको भेटलाई सकारात्मक रूपमा लिएको बताएका छन् । ‘पारस्परिक समृद्धि र साझा भविष्यका लागि सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच समान समझदारी देखिएको छ,’ – मोदीले उल्लेख गरेका छन् ।
दिल्लीले नेपाललाई आफ्नो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत सधैँ प्राथमिक साझेदारका रूपमा राख्दै आएको दाबी दोहोर्याएको छ । तर यसपटकको विशेषता के हो भने, परम्परागत शक्तिहरू कांग्रेस, एमाले र नेकपा जस्ता दलहरुलाई मात्र प्राथमिकता दिने दिल्लीले यसपटक रास्वपा जस्तो नयाँ दलका नेतालाई भारत सरकार र सत्ताधारी दल भारतीय जनता पार्टी दुवै तहबाट उच्च महत्त्व दिएको छ ।
प्रधानमन्त्री मोदीसँगको भेटअघि लामिछानेले भाजपा मुख्यालयको भ्रमण गरेका थिए, जहाँ भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नवीन, विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितका शीर्ष नेताहरूले उनलाई भव्य स्वागत गरे । भाजपा र रास्वपाबीचको यो संवादमा विशेषगरी राजनीतिमा युवा पुस्ताको बढ्दो भूमिका र सुशासन मोडेलबारे छलफल भएको बताइएको छ । रास्वपा टोलीले भाजपाको संगठन निर्माण, तल्लो तहसम्मको जनसम्पर्क र प्रविधिको प्रयोगबारे चासो राखेको थियो भने भारतीय पक्षले मोदी सरकारको विकासमुखी सुशासन मोडेल प्रस्तुत गरेको थियो ।
नेपाल र भारतबीच केही समययता कूटनीतिक संवादमा देखिएको सुस्तता र सीमासम्बन्धी पुरानै असमझदारीहरू कायम रहेको पृष्ठभूमिमा रविको यो भ्रमण भएको हो । नयाँ दिल्ली अब नेपालका पुराना दलहरूसँग मात्र भर पर्न चाहँदैन, भविष्यको नेतृत्वका रूपमा उदाएका नयाँ अनुहारसँग पनि सीधा सम्बन्ध बनाउन चाहन्छ भन्ने यसले सन्देश दिएको छ ।
यस्तै, लामिछानेले आफूलाई घरेलु राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि परिपक्व कूटनीतिक खेलाडीका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् ।
रास्वपा सभापति लामिछानेको पाँच दिने भारत भ्रमण र प्रधानमन्त्री मोदीसँगको भेटले नेपालको परम्परागत कूटनीतिक सन्तुलनमा नयाँ आयाम थपेको छ । नयाँ दिल्लीले रविलाई दिएको यो ‘रेड कार्पेट स्वागत’ले स्पष्ट पार्छ– ‘आगामी दिनमा नेपालको नीति निर्माण र सत्ता समीकरणमा रास्वपाको भूमिकालाई भारतले दीर्घकालीन महत्त्वका साथ हेर्नेछ ।’



प्रतिक्रिया