यी हुन् चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय


काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा रूपन्देहीका सबैभन्दा बढी देखिएका छन् ।

मुलुकभरमा चार हजारभन्दा बढी नौ सामुदायिक विद्यालय रहेकामा तीन विद्यालय रूपन्देहीकै रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमै सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन्।

रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार एक सय २०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार तीन सय ४० विद्यार्थी रहेका छन्।

रूपन्देहीपछि काठमाडौँमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय रहेका छन्। काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार सात सय ४६ र विश्वनिकेतन माविमा चार हजार तीन सय एक विद्यार्थी रहेको छन्।

धनुषाको विदेह नगरपालिकाको जनता नमूना माविमा ६ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार ६ सय ४२, भक्तपुरको भक्तपुर नगरपालिकाको वागीश्वरी माविमा चार हजार एक सय ८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार एक सय १४ विद्यार्थी रहेका छन्।

अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ का अनुसार पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । हाल देशभरका परम्परागतसहित २७ हजार १० सरकारी विद्यालय छन्। रासस