सगरमाथामै छुटेका शेर्पा सात दिनपछि जिवितै फेला, राज्य बेखवर


काठमाडौं, जेठ २१ । सगरमाथामा सात दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा सकुशल फेला परेका छन् । एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी आज बिहान हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् । उनका अनुसार शेर्पाका हातका औंलामा हिउँका कारण क्षति पुगेको छ र उनलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

बुधबार काठमाडौंस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो । हेलिकोप्टरले ५,२०० मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेपनि नभेटेपछि हिजो खोजी कार्य स्थगित गरिएको थियो ।

प्राप्त विवरणअनुसार, दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएको उनी आबद्ध हिमालयन ट्राभर्स एडभेन्चर प्रालिले जनाएको थियो । यसअघि उनी भान्सेका रुपमा तेस्रो शिविर पुगेको जनाइएको थियो । जेठ १५ गते सगरमाथाको आरोहण बन्द भएपछि बाटो बनाउन प्रयोग भएका डोरी र भ¥याई समेत निकालिसकेपछि शर्पा हिमालमै छुटेको खुलासा भएको थियो ।

सबैले आश मारिसकेको र लगभग जीवित रहने सम्भावना शून्य भइसकेको अवस्थामा यत्तिका दिन माइनस डिग्रीको तापमानमा उनी के खाएर र कसरी बाँचे भन्ने कुरा आफैँमा एउटा साक्षात महाचमत्कार बनेको छ। आरोहीको सुरक्षाको पूर्ण जिम्मेवारी लिएर मोटो रकम असुल्ने तर साता दिनसम्म आफ्ना गाइडरआरोही हिमालमा अलपत्र पर्दा समेत गैरजिम्मेवार बन्ने सम्बन्धित ट्रेकिङ कम्पनीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म ७ जना आरोही तथा गाइडको मृत्यु भइसकेको छ ।