छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित


काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कानुनी र संवैधानिक व्यवस्थाका बाबजुद समाजका विभिन्न क्षेत्रमा जातीय विभेद तथा छुवाछूतका घटना हुनु चिन्ताको विषय भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस प्रकारका अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पु–याउने भएकाले कुनै पनि बाहानामा त्यसो गर्न नपाइने बताएका छन् ।

सन्देशमा नेता आङदेम्बेले विभेदको अन्त्य केवल कानुनको कार्यान्वयनबाट मात्र सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि समाजमा चेतना, सहिष्णुता, सम्मान र समान व्यवहारको संस्कृतिको विकास अपरिहार्य रहेकामा जोड दिएका छन् ।