राप्रपाको आन्तरिक कलहको मारमा राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि एकपटक गम्भीर विभाजनको संघारमा पुगेको छ। महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जना प्रभावशाली नेताहरूले बिहीबार काठमाडौँमा एक विशेष कार्यक्रम गरी सामूहिक रूपमा पार्टी परित्याग गरेपछि राप्रपाभित्रको आन्तरिक कलह छताछुल्ल मात्र भएको छैन, यसले दक्षिणपन्थी शक्तिको भविष्यमाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

पहिलो चरणमा महामन्त्री राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेताहरु दिलनाथ गिरी, केशवराज श्रेष्ठ र कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइराला जस्ता स्थापित अनुहारहरूले पार्टी छोडेका छन्। यो लस्कर यतिमै रोकिने देखिँदैन, असन्तुष्ट पक्षका अनुसार अर्को चरणमा थप जिल्ला तह र जनवर्गीय संगठनका नेताहरू बाहिरिने तयारीमा छन्। राप्रपाको यो महाभूकम्पले केवल पार्टीको संरचना मात्र हल्लाएको छैन, यसले भर्खरै सम्पन्न फागुन २१ को निर्वाचनमा नमिठो पराजय भोगेको पार्टीलाई थप रक्षात्मक बनाएको छ।

एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन उदाउँदा कार्यकर्तामा नयाँ आशा थियो। तर, नेतृत्व सम्हालेको केही समयमै लिङ्देनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थाले। असन्तुष्ट पक्षको आरोप र राप्रपाको आन्तरिक वृत्तलाई नियाल्दा विद्रोहका केही कारण देखिन्छन् ।

पार्टी परित्याग गर्ने नेताहरूको मुख्य आरोप छ- अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली आत्मकेन्द्रित, संकुचित र हीनभावबाट ग्रसित भयो। पार्टीलाई समावेशी र सामूहिक निर्णय प्रक्रियाबाट चलाउनुको सट्टा घेराबन्दीमा परेर केही निश्चित व्यक्तिहरूको इसारामा चलाइएको आरोप राणा समूहको छ। जनता केन्द्रित राजनीतिको नारा दिए पनि व्यवहारमा कार्यकर्ताको भावना कुल्चिएको असन्तुष्ट पक्षको ठहर छ।

विद्रोहको सबैभन्दा ठूलो र सैद्धान्तिक कारण हो- संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्ने न्यूनतम साझा कार्यक्रममा राप्रपाको सहभागिता। केन्द्रीय कार्यसमितिलाई समेत पूर्णरूपमा अन्धकारमा राखेर पार्टीको मूल नेतृत्व पुष्पकमल दाहाल नेतृत्वको सरकारको साझेदार बन्यो। जुन व्यवस्था र प्रणालीको विरुद्ध राप्रपा सडक र सदनमा लडिरहेको थियो, त्यही व्यवस्थालाई सुदृढ गर्ने दस्तावेजमा सही गर्नुले लिङ्देन नेतृत्वको वैचारिक निष्ठामाथि ठूलो धक्का लागेको असन्तुष्ट नेताहरूको तर्क छ।

गएको फागुन २१ को निर्वाचनमा राप्रपाले अप्रत्याशित र नमिठो पराजय भोग्नुपर्‍यो। पराजयपछि पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने माग उठेको थियो। तर, नेतृत्वले हारबाट चेत्नुको सट्टा उल्टै असन्तुष्ट आवाजहरूलाई दबाउने र एकलौटी ढंगले अघि बढ्ने नीति लिएपछि धवलशम्सेर राणा नयाँ पार्टी गठनतिर लागेको बताइन्छ ।

राप्रपाको इतिहास फुटको फेहरिस्त हो। यसअघि तत्कालीन अध्यक्ष कमल थापाले महाधिवेशनको परिणामलाई स्वीकार गर्न नसकी पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेका थिए। कमल थापा बाहिरिँदा सच्चा राष्ट्रवादीहरू एक ठाउँमा छन् भनिएको थियो। तर, अहिले पार्टीकै जग मानिने र लिङ्देनलाई अध्यक्ष बनाउन मुख्य भूमिका खेल्ने धवलशम्सेर राणा नै बाहिरिनुले समस्या व्यक्तिको अहम्‌मा मात्र होइन, राप्रपाको संस्थागत प्रवृत्तिमै रहेको पुष्टि गर्छ।

पटक–पटकको टुटफुट र आन्तरिक किचलोको सबैभन्दा ठूलो मूल्य राप्रपाले बोकेका कोर एजेन्डाहरूले चुकाउनुपरेको छ। आम जनतामा राजतन्त्र पुनस्र्थापना र वैदिक सनातन हिन्दुराष्ट्र स्थापनाको एजेन्डाप्रति आकर्षण बढिरहेकै बेला नेतृत्वको कुर्सीको लडाइँले जनतामा निराशा पैदा गरेको छ।

राप्रपा यतिबेला सङ्कटको दोबाटोमा छ। १८३ जनाको बहिर्गमन पहिलो गाँस मात्र हो, यदि समयमै कदम नचाल्ने हो भने पार्टीको भविष्य थप संकटमा पर्नेछ।
फागुन २१ को पराजय र अहिलेको सामूहिक राजीनामालाई केही व्यक्तिको महत्त्वाकाङ्क्षा भनेर हल्का रूपमा लिनु लिङ्देनको सबैभन्दा ठूलो भूल हुनेछ। उनले तुरुन्तै केन्द्रीय समितिको विशेष बैठक डाकेर आफ्ना कमजोरीहरूको आत्मालोचना गर्नुपर्छ र असन्तुष्ट रहेका बाँकी नेताहरूलाई रोक्न संवादको ढोका खोल्नुपर्छ।

राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा केवल चुनावी नारा मात्र होइनन् भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्छ। व्यवस्थाविरोधी आन्दोलनको नेतृत्व गर्ने हो भने सत्ताको फेरो समात्ने दोहोरो चरित्र बन्द हुनुपर्छ। धवलशम्सेरहरूले लगाएको ‘आत्मकेन्द्रित शैली’को आरोपलाई व्यवहारतः गलत प्रमाणित गर्न लिङ्देनले निर्णय प्रक्रिया पारदर्शी बनाउनु आवश्यक छ। साथै, तल्लो तहका इमानदार कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई पुनः ऊर्जा दिन लिङ्देन आफैँ जिल्ला र गाउँ तहको दौडाहामा निस्कनुपर्छ।

राप्रपामा लागेको यो पहिरो सामान्य राजनीतिक फेरबदल मात्र होइन, यो दक्षिणपन्थी आन्दोलनभित्रको गम्भीर सैद्धान्तिक र सांगठनिक विचलनको परिणाम हो। डा. धवलशम्सेर राणाको नेतृत्वमा नयाँ पार्टी बन्ला या अर्को राजनीतिक ध्रुवीकरण होला, त्यो भविष्यको गर्भमा छ। तर, पराजय र फुटको यो नमिठो धक्कापछि पनि यदि राजेन्द्र लिङ्देनले आफ्नो आत्मकेन्द्रित कार्यशैली सुधारेनन् भने राप्रपा इतिहासकै कमजोर मोडमा पुग्ने निश्चित छ।