तेहरान, २३ जेठ । अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ । यो घटनालाई मध्यपूर्वमा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चार वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो । ती ड्रोनहरूले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।
सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र कÞेश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्नका लागि गरिएको बताएको छ ।
यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिका सरकारले जमेका इरानी सम्पत्तिमा करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ ।
रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिँदै अमेरिकालाई “अन्धकारमय अवस्थातर्फ प्रवेश गर्न सक्ने” बताए । उनले वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गर्नुपर्ने पनि बताएका छन् ।
अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले इरान “बलियो र गर्विलो” भएकाले सम्झौता गर्न ढिला गरिरहेको टिप्पणी गर्दै अन्ततः उनीहरूसँग विकल्प सीमित रहेको दाबी गरे ।
यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गरेका छन् । मध्यपूर्वमा अमेरिका–इरानबीच बढ्दो तनाव र सैन्य गतिविधिका कारण क्षेत्रीय शान्ति प्रक्रियामाथि थप प्रश्न उठ्न थालेको विश्लेषकहरूले बताएका छन् । रासस



प्रतिक्रिया