परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा विरोध प्रदर्शन गर्ने


सिरहा । सिरहामा एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गरिनेछ ।

सार्वजनिक गरिएको प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारा देखाइएको छ ।

मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थी माथिको दमन अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ को परीक्षाका क्रममा परीक्षार्थीहरुबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको थियो।

प्रशासनका अनुसार परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो । ती सबै उपकरण हालै नष्ट गरिएको र बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।