काठमाडौँ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । सात वर्षपछि उत्तर कोरियाको भ्रमणमा पुगेका राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई विमानस्थलमै पुगेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले विशेष स्वागत गरे ।
भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको भन्दै नेता किमले प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा सीको सम्मानमा भव्य स्वागत समारोहको आयोजना गरेका थिए । चिनियाँ राष्ट्रपति सीलाई २१ तोपको सलामी दिनुका साथै सैन्य ब्यान्डले दुवै देशको राष्ट्रिय धुन बजाएर सम्मान प्रकट गरेको थियो ।
त्यस क्रममा चिनियाँ राष्ट्रपति सीले नेता किमसँगै कोरियाली जनसेनाको तीनवटै सेवाको ‘गार्ड अफ अनर’को निरीक्षण गरे । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि प्योङयाङमा सर्वसाधारणका साथै ठूलो संख्यामा बालबालिका र किशोरकिशोरीहरू हातमा दुवै देशको झण्डा, फूल र बेलुन बोकेर सडकमा उत्रिएका थिए ।



प्रतिक्रिया