फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु


मनिला, २५ जेठ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ । बाँकी मृत्यु अन्य प्रभावित क्षेत्रबाट पुष्टि गरिएको हो ।

घाइतेहरूको सङ्ख्या १२९ पुगेको बताइएको छ । तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पको धक्का महसुस भएपछि धेरै स्थानमा घर, भवन र पूर्वाधारमा क्षति पुगेको आशङ्का गरिएको छ ।

फिलिपिन्स सरकारका अनुसार समाज कल्याण तथा विकास विभाग (डिएसडब्लुडी) ले प्रभावित क्षेत्रका लागि राहत सामग्री र आपतकालीन सहायता परिचालन गरेको छ । मन्त्रालयले मिन्डानाओमा ११ लाखभन्दा बढी पारिवारिक फूड प्याक तयारी अवस्थामा राखेको र आवश्यकताअनुसार तत्काल वितरण भइरहेको जनाएको छ ।

सरकारी आपतकालीन व्यवस्थापन निकायले पनि देशभर करिब ४७ लाख फूड प्याक आपतकालीन प्रयोगका लागि तयार रहेको जनाएको छ । स्थानीय प्रशासनसँग समन्वय गर्दै उद्धार तथा राहत टोलीहरू परिचालन गरिएको छ ।

समाज कल्याण विभागका अनुसार फिल्ड कार्यालयहरूलाई स्थानीय सरकारसँग मिलेर निकासी केन्द्रहरूमा सामाजिक कार्यकर्ता परिचालन गर्न निर्देशन दिइएको छ । प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।

यसैबीच, फिलिपिन्स राष्ट्रिय प्रहरीले आपतकालीन अवस्था सम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गर्दै सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । भूकम्पपछि सम्भावित परकम्प र थप जोखिमलाई ध्यानमा राखेर निरन्तर निगरानी भइरहेको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले नागरिक रक्षा कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई तत्काल सक्रिय पारिएको जानकारी दिएको छ ।

भूकम्पपछि देशका नौ प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानतर्फ सार्न निर्देशन दिइएको छ । इन्डोनेसियाका उत्तरी सुलावेसी, उत्तरी गोरोन्टालो र साङ्गिहे टापुहरूमा पनि निकासी आदेश जारी गरिएको छ ।

जापान, फिलिपिन्स र इन्डोनेसियाले तटीय क्षेत्रमा सुनामीको खतरा देखिएपछि सतर्कता जारी गरेका छन् । अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरका अनुसार फिलिपिन्स तटीय क्षेत्रमा करिब तीन मिटरसम्म र इन्डोनेसिया तथा मलेसियाका केही भागमा एक मिटरसम्म सुनामी आउन सक्ने सम्भावना रहेको छ ।

भूकम्पपछि क्षेत्रीय स्तरमा उच्च सतर्कता अपनाइएको छ भने उद्धार तथा राहत कार्य अझै जारी रहेको अधिकारीहरूले जनाएका छन् । रासस

Skip This

Omoda E5 Pro