मनिला (फिलिपिन्स), २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ । एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् ।
एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग एक लाख ५० हजार मानिसहरूलाई असर गरेको बताएको छ । भूकम्पले अस्पताल, विद्यालय र पुलहरू लगायतका २३८ वटा पूर्वाधार सुविधाहरू क्षतिग्रस्त भएको एनडीआरआरएमसीले जनाएको छ ।
मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही भागहरूमा कम्पन महसुस गरिएको र मुख्य झट्का पछि १७०० भन्दा बढी पराकम्पहरु रेकर्ड गरिएको जनाएएको छ भने प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको जनाइएको छ ।
भूकम्पले हताहत, विस्थापन, र पूर्वाधारको क्षतिको सन्दर्भमा सबै भन्दा बढी प्रभावित क्षेत्रहरू सारङ्गनी र दक्षिण कोटाबातो प्रान्तहरू हुन्, जसमा लगभग सात लाख जनसङ्ख्या रहेको, एनडीआरआरएमसीले जनाएको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार स्थानीय समय अनुसार विहान ७ः३७ मा ३३ किलोमिटर गहिराइमा भूकम्प गएको थियो जसको केन्द्र–बिन्दु मिन्दानाओ टापुको सारङ्गनी प्रान्तको मासिम सहरको तटबाट ३२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो । रासस



प्रतिक्रिया