वालिङ (स्याङ्जा), २७ जेठ । मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन् । उनी झन्डै १९ वर्ष विदेश बसेका थिए ।
उनले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गरेका छन् । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् ।
रेग्मीले प्रतिगोला ८०० का दरले माहुरी बिक्री गर्छन् । यस वर्ष उनले आठ लाख आम्दानी गरेका छन् ।
“मैले मौरीको गोलामात्रै प्रतिफ्रेम ८०० का दरले बिक्री गर्दै आएको छु”, उनले भने, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।”
“मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उनले भने, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ ।” उनले एक घारमा पाँच फ्रेम मौरी राखेर चार हजारमा बिक्री गर्दै आएका छन् ।
चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि एक लाख अनुदानसमेत उपलब्ध गराएको छ ।



प्रतिक्रिया