नेहरूलाई उछिनेर भारतमा मोदीले रचे इतिहास


काठमाडौँ । स्वतन्त्र भारतको राजनीतिक इतिहासमा आज एउटा यस्तो मोड आएको छ, जसले विगत सात दशकदेखिको स्थापित विरासतलाई उथलपुथल पारिदिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आधुनिक भारतका निर्माता मानिने प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको ऐतिहासिक कीर्तिमानलाई भङ्ग गर्दै नयाँ इतिहास रचेका छन्।

लगातार कार्यकालका आधारमा नरेन्द्र मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म निरन्तर सत्ताको बागडोर सम्हाल्ने पहिलो निर्वाचित प्रधानमन्त्री बनेका छन्। सन् २०१४ मे २६ मा पहिलोपटक ‘शाइनिंग इन्डिया’को नारासहित सत्तामा उदाएका मोदीले निरन्तर ४ हजार ३ सय ९९ दिन प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्दै नेहरूको ४ हजार ३ सय ९८ दिनको रेकर्डलाई उछिनेका हुन्।


‘नियुक्त’ र ‘निर्वाचित’को राजनीतिक भिन्नता


यो ऐतिहासिक कीर्तिमानलाई राजनीतिक विश्लेषकहरूले सूक्ष्म ढंगले केलाएका छन्। भारत सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि नेहरू सोझै प्रधानमन्त्री नियुक्त भएका थिए। निर्वाचन नलडीकनै सरकार प्रमुख बनेको उनको त्यो पहिलो अवधि १ हजार ७ सय ३२ दिनको थियो।

तर, सन् १९५२ मा भारतमा पहिलो आमनिर्वाचन भएपछि निर्वाचित प्रधानमन्त्रीका रूपमा नेहरूले १९५२ मे १३ देखि १९६४ मे २७ (मृत्युपर्यन्त) सम्म लगातार ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरे। नरेन्द्र मोदीले नेहरूको त्यही निर्वाचित अवधिको कीर्तिमानलाई तोडेका हुन्। विगतमा अटलबिहारी वाजपेयी तीन फरक–फरक अवधिमा प्रधानमन्त्री बने पनि मोदीझैँ निरन्तर र अविच्छिन्न रूपमा लामो समय सत्तामा रहने शौभाग्य नेहरूबाहेक अरू कसैलाई मिलेको थिएन।

मोदीको ट्वीट

‘यो उपलब्धि मेरो मात्र होइन, १४० करोड भारतीय जनताको हो। यो लोकतन्त्रप्रतिको अटुट विश्वास, संविधानप्रतिको आस्था र देशलाई विकसित भारत बनाउने सामूहिक संकल्पको परिणाम हो’, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

दिल्लीको उत्सव र विकसित भारत–२०४७ को रोडम्याप

यो ऐतिहासिक उपलब्धिको उत्सव मनाउन नयाँ दिल्लीस्थित ‘भारत मण्डपम्’मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को विशेष बैठकसमेत आह्वान गरिएको छ। बाईस राज्य तथा केन्द्रशासित क्षेत्रका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरूको सहभागिता रहने उक्त बैठकमा मोदीको सम्मानमा विशेष बधाई प्रस्ताव पारित गरिँदैछ।

बैठक केवल उत्सवमा मात्र सीमित छैन, यसले मोदीको तेस्रो कार्यकालको महत्त्वाकाङ्क्षी योजना ‘विकसित भारत–२०४७’ को रोडम्याप, केन्द्र–राज्य समन्वय र आर्थिक सुधारका एजेन्डा जस्तै- ‘इज अफ लिभिङ’ र ‘इज अफ डुइङ बिजनेस’लाई तीव्रता दिने रणनीति तय गर्दैछ।

नेपालसँगको भावनात्मक सम्बन्ध


नेपाली राजनीतिक र कूटनीतिक वृत्तमा नरेन्द्र मोदीको यो निरन्तरतालाई चासोका साथ हेरिएको छ। आफ्नो चारपटकको नेपाल भ्रमणका क्रममा मोदीले नेपालसँगको सम्बन्धलाई केवल राजनीतिक मात्र नभई आध्यात्मिक र सांस्कृतिक उचाइ पनि दिएका छन्।

ध्यान, योग, सनातन धर्म र अध्यात्मप्रति गहिरो अभिरुचि भएका योगपारंगत भारतीय प्रधानमन्त्री मोदीले नेपालका स्थापित धार्मिक धरोहरहरूलाई विश्वमञ्चमा ब्रान्डिङ गर्ने काम गरे–

पशुपत क्षेत्र र मुक्तिनाथ– शिव र शक्तिको आराधना गर्दै नेपाल–भारतको धार्मिक पर्यटनलाई मोदीले नयाँ दिशा दिए।

जनकपुरधाम र लुम्बिनी– माता सीताको जन्मभूमि मिथिला र बुद्धको जन्मस्थल लुम्बिनी पुगेर रामायण सर्किट र बुद्ध सर्किटको अवधारणा अघि सारे।

कालिगण्डकी, दामोदर कुण्ड र स्वर्गद्वारी– यी क्षेत्रलाई मोदीले सनातन सभ्यताको विशिष्ट धरोहर मान्दै आएका छन्।

नेपाललाई औधि माया गर्ने र नेपाली मन जित्न नेपाली भाषामै सम्बोधन गर्ने मोदीको शैली कूटनीतिक रूपमा निकै चतुर र भावनात्मक रूपमा बलियो मानिन्छ।

मोदी भारतीय राजनीतिक आकाशका यस्ता राष्ट्रिय नेता बनेका छन्, जसको प्रभावलाई नजरअन्दाज गर्न सम्भव छैन। जवाहरलाल नेहरूको समाजवादी मोडेलबाट सुरु भएको स्वतन्त्र भारतको यात्रा आज मोदीको अध्यात्मचिन्तन, प्रविधिमैत्री र राष्ट्रवादी मोडेलमा आइपुग्दा नयाँ उचाइमा पुगेको छ।

विश्व मञ्चमा भारतको आर्थिक र डिजिटल रूपान्तरणको जस मोदीलाई जाँदा, छिमेकी देश नेपालका लागि उनको यो लामो इनिङ स्थिर कूटनीति र कनेक्टिभिटीका दृष्टिले निकै अर्थपूर्ण रहने देखिन्छ।
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतका प्रधानमन्त्री मोदीले कायम गरेको नयाँ राजनीतिक कीर्तिमान र उनको १२ वर्ष लामो शासनकाल केवल भारतका लागि मात्र होइन, छिमेकी नेपालका लागि पनि एउटा खुला विश्वविद्यालय जस्तै हो।

अस्थिर राजनीति, सुस्त कर्मचारीतन्त्र र कमजोर आर्थिक वृद्धिको चक्रव्यूहमा फसेको नेपालले मोदीको नेतृत्व शैली, रणनीति र ‘डेलिभरी मोडेल’बाट धेरै कुरा सिक्न सक्छ।

राजनीतिक स्थिरता र नीतिगत निरन्तरता


मोदीबाट नेपालले सिक्नुपर्ने सबैभन्दा पहिलो र महत्त्वपूर्ण पाठ यही हो। नेपालमा सरकारहरू पटक–पटक फेरिँदा एउटा सरकारले ल्याएको नीति अर्को सरकारले खारेज गर्छ। मोदीले लगातार १२ वर्ष सत्ता सम्हाल्दा भारतले नीतिगत स्थिरता पायो। मोदीले २०१४ मा सुरु गरेका ‘मेक इन इन्डिया’ वा ‘डिजिटल इन्डिया’जस्ता कार्यक्रमहरू सन् २०२६ सम्म आइपुग्दा परिपक्व भई नतिजा दिने अवस्थामा पुगेका छन्। नेपालले पनि राजनीतिक स्वार्थभन्दा माथि उठेर कम्तीमा राष्ट्रिय गौरवका आयोजना, परराष्ट्र नीति र आर्थिक एजेन्डामा ‘दीर्घकालीन साझा प्रतिबद्धता’ कायम गर्न सिक्नुपर्छ।

सांस्कृतिक कूटनीति


मोदी नेपाल आउँदा पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गरेर उनले अर्बौँ हिन्दू र बौद्ध धर्मावलम्बीको ध्यान नेपालतर्फ आकर्षित गरिदिए। मोदीले योग र ध्यानलाई विश्वव्यापी बनाए, गीता र बुद्धका उपदेशलाई कूटनीतिक मञ्चमा प्रयोग गरे। तर हामीले अध्यात्म र आफ्ना प्राकृतिक धरोहरहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा ब्रान्डिङ गर्न सकेका छैनौँ। त्यसैले मोदीबाट सिकेर नेपालले आफ्ना सम्पदाहरुको सक्दो प्रचार-प्रसार गर्नुपर्छ ।

प्रविधिको उच्च प्रयोग


नेपालमा नीति र योजनाहरू कागजमा उत्कृष्ट बन्छन्, तर कार्यान्वयन शून्य हुन्छ। मोदी सरकारको सबैभन्दा बलियो पक्ष भनेकै तोकिएको समयमै काम फत्ते गर्ने शैली हो। भारतमा ‘जनधन, आधार र मोबाइल’मार्फत करोडौँ गरिबको खातामा सिधै पैसा पठाइयो, जसले गर्दा भ्रष्टाचार रोकियो। ‘गति शक्ति’ योजनामार्फत पूर्वाधार निर्माणको गति तीव्र पारियो। त्यसैले नेपालले पनि चुस्त कर्मचारीतन्त्र र प्रविधिको प्रयोग गरी सुशासन दिन सिक्नुपर्छ। ‘फाइल अड्काउने संस्कृति’ र ‘भोलिवाद’लाई प्रविधिमार्फत विस्थापित नगरेसम्म नेपालमा विकास सम्भव छैन।

राष्ट्रिय गौरव र आत्मनिर्भरताको भाष्य


मोदीले भारतीय नागरिकमा ‘हामी विश्वको नेतृत्व गर्न सक्छौँ’ भन्ने एउटा बलियो आत्मविश्वास पैदा गरिदिएका छन्। ‘आत्मनिर्भर भारत’को नाराले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्यो। मुलुक मगन्ते र कमजोर मात्र छ भन्ने हीनताबोधबाट जनतालाई बाहिर निकाल्नु नेतृत्वको काम हो, जुन मोदीले सफलतापूर्वक गरे।

तर ‘नेपालमा केही हुँदैन’ भन्ने निराशावादी भाष्यले युवा पलायन व्यापक भइरहेको छ । जेनजी आन्दोलनको जगमा भएको आमनिर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको रास्वपा सरकारले पनि युवा पलायन रोक्न सकेको छैन । राजनीतिक नेतृत्वले युवाहरूलाई रोक्ने र स्वदेशमै उत्पादन बढाउने खालको ‘नेपाली गौरव’ र ठोस आर्थिक कार्यक्रम ल्याउन मोदीको राष्ट्रवादी आर्थिक मोडेलबाट सिक्न सक्नुपर्छ।

बलियो कमान्ड र कन्ट्रोल


भारतीय प्रधानमन्त्री मोदीको १२ वर्षे शासनकाल मूलतः दूरदर्शी सोच, दह्रो राजनीतिक इच्छाशक्ति र प्रविधिमा आधारित तीव्र कार्यान्वयनमा केन्द्रित रहन पुग्यो । मोदीको कार्यशैली कमान्डिङ प्रकृतिको छ। उनी जोखिमपूर्ण निर्णय लिन डराउँदैनन् । जस्तै– नोटबन्दी, जीएसटी वा कतिपय वैदेशिक नीति।

मोदीको यो कमान्डिङ प्रकृतिको कार्यशैलीबाट देशको हितका लागि नेपाल सरकारले पनि सिक्न जरुरी छ ।

‘भनिसकेपछि काम हुनैपर्छ र तोकिएकै समयमा काम हुनुपर्छ’ भन्ने मोदीको जुन कार्यान्वयनमुखी प्रवृत्ति छ, त्यो नै नेपाली राजनीतिज्ञहरूले मोदीबाट तत्काल मनन गर्नुपर्ने सबैभन्दा सकारात्मक र प्रगतिको अचुक उपाय हो।

Skip This

Omoda E5 Pro