सीको उत्तर कोरिया भ्रमणपछि सम्बन्धको नयाँ खाका


सियोल, २७ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्योङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि ‘दूरगामी खाका’ तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए । उत्तर कोरिया र रुसबीच पछिल्लो समय असाधारण रूपमा नजिकिएको सम्बन्धका बीच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

केसीएनएका अनुसार सी जिनपिङ र किम जोङ उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विषयमा सन्तुष्टि व्यक्त गरेका छन् । दुई दिने भ्रमणका क्रममा दुवै पक्षले क्रान्तिकारी मित्रता, राजनीतिक विश्वास र रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने दृढता दोहो¥याएका छन् ।

भ्रमणका क्रममा सी र किमले वर्कर्स पार्टीको केन्द्रीय क्याडर प्रशिक्षण विद्यालयको संयुक्त अवलोकन गरेका थिए । त्यहाँ उनीहरूले पार्टी नेतृत्व विकास र राजनीतिक प्रशिक्षणबारे छलफल गरेको केसीएनएले जनाएको छ । त्यसपछि दुवै नेताले कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा निर्माण गरिएको मैत्री स्मारक परिसरमा वृक्षरोपण गरेका थिए।

सीलाई प्योङयाङमा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उनी आफ्नी पत्नी तथा वरिष्ठ सरकारी प्रतिनिधिमण्डलसहित उत्तर कोरिया पुगेका थिए । भ्रमण सम्पन्न भएपछि किमलाई पठाएको सन्देशमा सीले दुवै पक्षले साझा चासोका विषयमा गहन विचार आदानप्रदान गरी महत्त्वपूर्ण समझदारी हासिल गरेको उल्लेख गरेका छन् ।

सीका अनुसार यो सहमतिले परम्परागत मित्रतालाई नयाँ ऊर्जा दिने, साझा विकास र समृद्धिलाई प्रोत्साहन गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षण गर्ने दुवै देशको प्रतिबद्धता झल्काउँछ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि सी र किमबीच नयाँ युगअनुसार चीन–उत्तर कोरिया सम्बन्ध विकास गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको जनाएको छ । बेइजिङका सरकारी सञ्चारमाध्यमका अनुसार सीले कूटनीतिक, सुरक्षा, कानून कार्यान्वयन तथा सैन्य सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

विश्लेषकहरूका अनुसार सैन्य सहकार्यलाई प्राथमिकता दिनुको उद्देश्य उत्तर कोरियाली सेनाभित्र भइरहेका प्राविधिक परिवर्तन तथा रुससँगको बढ्दो सैन्य सम्बन्धको प्रत्यक्ष मूल्याङ्कन गर्नु पनि हुन सक्छ । दक्षिण कोरियास्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनले चीनले उत्तर कोरियाभित्र रुससमर्थक र चीनसमर्थक प्रभावको अवस्थाबारे थप जानकारी सङ्कलन गर्न खोजेको हुन सक्ने बताएका छन् ।

यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष भने उत्तर कोरियाको आणविक कार्यक्रमबारे सार्वजनिक मौनता रह्यो । गत महिना ट्रम्पसँगको वार्तापछि ह्वाइट हाउसले उत्तर कोरियाको आणविक निशस्त्रीकरण दुवै पक्षको साझा लक्ष्य भएको जनाएको थियो । तर सी–किम शिखर वार्ताबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेका विवरणमा आणविक निशस्त्रीकरणको कुनै उल्लेख गरिएको छैन ।

विश्लेषकहरूले यसलाई बेइजिङले उत्तर कोरियाको आणविक हैसियतलाई व्यावहारिक रूपमा स्वीकार गरिरहेको सङ्केतका रूपमा व्याख्या गरेका छन् । किम जोङ उनले पटक–पटक उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम नत्याग्ने बताउँदै आएका छन् । भ्रमणअघि उनकी बहिनी किम यो जोङले पनि उक्त कार्यक्रम उत्तर कोरियाको ‘कुनै सम्झौता नहुने सीमा’ भएको बताएका थिए ।

यद्यपि पछिल्ला वर्षहरूमा उत्तर कोरिया रुसतर्फ बढी झुकेको देखिए पनि चीन अझै पनि उसको सबैभन्दा ठूलो आर्थिक साझेदार बनेको छ । युक्रेन युद्धमा सहयोगस्वरूप सैनिक र हतियार पठाएर प्योङयाङले मस्कोसँगको सम्बन्ध बलियो बनाएको छ । तर अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण दबाबमा रहेको उत्तर कोरियाली अर्थतन्त्रका लागि चीन मुख्य आर्थिक आधारका रूपमा कायम छ ।

दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल वैदेशिक व्यापारको करिब ९८ प्रतिशत अर्थात् दुई अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार चीनसँग भएको थियो । यसले उत्तर कोरियामाथि चीनको आर्थिक प्रभाव अझै निर्णायक रहेको देखाउँछ । रासस

Skip This

Omoda E5 Pro