काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने र बलात्कारको धम्की आएको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले नेपाललाई सनातनी राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएपछि आफूविरुद्ध सुनियोजित रूपमा सामाजिक सञ्जालमार्फत धम्की आइरहेको बताएकी हुन् ।
सांसद ओलीले संसद्मा यो विषय उठाएलगत्तै गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्ने आश्वासन दिएका छन् । बैठक चलिरहेकै समयमा गृहमन्त्री गुरुङले ओलीको सिटमै पुगेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउँदै आवश्यक प्रक्रियामा आउन आग्रह गरेका हुन् ।
केही दिनअघिको संसद् बैठकमा सांसद ओलीले ‘९० प्रतिशत सनातनी बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ’ भनी जनभावनाअनुसार आवाज उठाएको दाबी गरेकी थिइन् । उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै आफूलाई तारन्तार धम्की आउन थालेको भन्दै उनले संसद्मा आक्रोश र असुरक्षा व्यक्त गरिन् ।



प्रतिक्रिया