काठमाडौं, जेठ २७ । नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनेका छन् । हाल सुदूरपश्चिम प्रदेशसभाका सदस्यसमेत रहेका उनले मंगलबारबाट मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
अछाम (२) बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित रावल २०३१ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । पछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका उनी कार्यसम्पादन मूल्यांकनमा सधैं अग्रस्थानमा रहने गरेका थिए ।
२०६२ सालमा एसएसपी भएका उनले सोही पदबाट अवकास पाएर घर फर्किनु पर्यो । शाही शासनकाल घोषणा भएको २४ घण्टा नवित्दै उनलाई काठमाडौंबाट नेपालगञ्ज सरुवा गरिएको थियो । पारिवारीक पृष्ठभूमि कांग्रेस भएकैले आफूलाई कारबाहीस्वरुप तत्काल सरुवा गरेको उनी बताउँछन् ।
कार्यसम्पादनमा जहिल्यै पहिलो हुने रावललाई शाहीकालको सरकारले बढुवा रोकेर उनीभन्दा दोस्रो नम्बर बरियताका रमेशचन्द्र ठकुरी, तेस्रो नम्बरमा रहेका रवीन्द्रप्रताव शाहलाई डीआईजीमा बढुवा गरियो ।
रावल भने एसएसपीमै रोकिए । ठकुरी र शाह प्रहरीको आईजीपी पनि बने तर रावलको आईजीपी बन्ने सपना सपनामै सिमित रह्यो । त्यसपछि उनी २०६२ सालमा अवकाश लिएर घर फर्किए । प्रहरी सेवाबाट बाहिरिएपछि राजनीतिमा प्रवेश गरेका रावलले अहिले सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।



प्रतिक्रिया