डिजिटल युगको अदृश्य भोट बैंक – ‘एल्गोरिदम’


बिहान ओछ्यानबाट उठ्ने बित्तिकै मोबाइलको स्क्रिन स्क्रोल गर्दा देखिने पहिलो राजनीतिक पोस्टदेखि युट्युब र टिकटकमा आउने चुनावी भिडियोहरूसम्म हामीले जे देख्छौँ, त्यो केवल संयोग होइन। आजको डिजिटल युगमा मतदाताको मनस्थिति बदल्न कुनै दलको आमसभा, भित्ते लेखन वा सडक पर्चा मात्र पर्याप्त छैन। पर्दापछाडि एउटा यस्तो अदृश्य शक्ति सक्रिय छ, जसले कुन नेताको भाषण भाइरल हुने र कसको राजनीति ओझेलमा पर्ने भन्ने कुराको फैसला गर्छ। त्यो शक्ति हो एल्गोरिदम (Algorithm)।

के हो त एल्गोरिदम ?


एल्गोरिदम भनेको सामाजिक सञ्जालहरू (फेसबुक, टिकटक, युट्युब,रिल्स आदि) ले प्रयोगकर्ताको बानी, रुचि र डिजिटल व्यवहारको विश्लेषण गरी उसलाई कस्ता सामग्री देखाउने भनेर तय गर्ने एक गणितीय नियम हो। नेपालको लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रणालीमा यस अदृश्य शक्तिको प्रभाव दिनानुदिन गहिरिँदै गएको छ। जुन शक्तिको अर्को प्रभाब आगामी स्थानीय निर्वाचनमा पनि देखिने निश्चित छ।

गत निर्वाचन (२०७९): एल्गोरिदमले ल्याएको राजनीतिक पराकम्पन

२०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन नेपालको राजनीतिक इतिहासमा एउटा ‘टर्निङ प्वाइन्ट’ रह्यो । परम्परागत राजनीतिक दलहरूको बलियो सङ्गठन र आर्थिक शक्तिलाई सामाजिक सञ्जालको एल्गोरिदमले कडा चुनौती दियो।
काठमाडौँ महानगरपालिकामा बालेन शाहको उदय होस् वा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित जित, यसको जग सामाजिक सञ्जालकै एल्गोरिदमले खडा गरिदिएको थियो।


फेसबुक र टिकटकको एल्गोरिदम ‘इन्गेजमेन्ट’ (लाइक, कमेन्ट, सेयर) का आधारमा चल्छ। नयाँ र वैकल्पिक शक्तिहरूले सिर्जना गरेका छोटो, आकर्षक र आक्रोशपूर्ण भिडियोहरूमा जनताले तीव्र प्रतिक्रिया दिए। एल्गोरिदमले त्यस्ता सामग्रीलाई स्वतः थप प्रवर्द्धन (Boost) गरिदियो, जसका कारण स्थापित पुराना दलका एजेन्डाहरू ओझेलमा परे। पुराना दलहरूले चुनावी आमसभा र कार्यकर्ता परिचालनमा करोडौँ खर्च गरिरहँदा, नयाँ शक्तिहरूले एल्गोरिदमको सही उपयोग गरेर नागरिकको बैठक कक्षसम्म आफ्नो पहुँच बनाए।

आगामी स्थानीय तहको चुनाव: सम्भावित परिदृश्य र प्रभाव

अब आउने स्थानीय तहको निर्वाचनसम्म पुग्दा प्रविधिको विकास र एल्गोरिदमको रूप दुवै बदलिइसकेको छ। अबको चुनाव केवल स्मार्टफोनको स्क्रोलिङमा मात्र सीमित हुने छैन, यसमा कृत्रिम बुद्धिमत्ता (AI) र डिपफेक (Deepfake) जस्ता अत्याधुनिक प्रविधिको ठूलो भूमिका रहने निश्चित छ।
आगामी चुनावमा एल्गोरिदमले मुख्यतया तीनवटा प्रभाव पार्ने देखिन्छ:


१. इको चेम्बर र फिल्टर बबल (Echo Chamber):-
एल्गोरिदमले मानिसलाई त्यही कुरा मात्र देखाउँछ जुन उसले मन पराउँछ। यदि कोही प्रयोगकर्ता कुनै निश्चित दलको समर्थक छ भने, उसलाई चौबीसै घण्टा त्यही दलको प्रशंसा र विरोधी दलको आलोचना मात्र देखाइन्छ। यसले गर्दा मतदाताहरूमा वैचारिक ध्रुवीकरण यति कडा हुनेछ कि उनीहरू सत्य-तथ्य बुझ्न र अर्को पक्षको कुरा सुन्नै तयार हुने छैनन्।

२. भ्रामक सूचना र प्रोपोगान्डको डढेलो:- सामाजिक सञ्जालका एल्गोरिदमहरू उत्तेजक, नकारात्मक र सनसनीपूर्ण सामग्रीमा बढी चल्छन्। आगामी स्थानीय चुनावमा उम्मेदवारहरूको चरित्र हत्या गर्ने, नक्कली अडियो-भिडियो (Deepfake) बनाएर फैलाउने कार्य तीव्र हुन सक्छ। एल्गोरिदमले यस्ता नकारात्मक सामग्रीलाई सेकेन्डभरमै देशव्यापी भाइरल बनाइदिने सामर्थ्य राख्छ, जसलाई रोक्न निर्वाचन आयोग र राज्यका संयन्त्रहरूलाई निकै कठिन हुनेछ।


३. माइक्रो-टार्गेटिङ :- राजनीतिक दलहरूले अब विधागत रूपमा विज्ञापन गर्नेछन्। उदाहरणका लागि, रोजगारी खोजिरहेका युवाको मोबाइलमा एउटा दलको रोजगार सम्बन्धी एजेन्डा पुग्नेछ भने, गृहणीहरूको मोबाइलमा महँगी नियन्त्रण गर्ने आश्वासन दिइएको भिडियो मात्र देखिनेछ। मतदातालाई थाहै नपाई उसको मनोविज्ञान अनुसार वर्गीकरण गरेर मत प्रभावित पारिनेछ।

कुन दलले बढी फाइदा लिन सक्छ?

यो डिजिटल खेलमा कुन दलले बढी फाइदा लेला त? यसको विश्लेषण गर्दा दलहरूलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ:
नयाँ र प्राविधिक रूपमा सक्षम दलहरू (रास्वपा र स्वतन्त्र उम्मेदवारहरू):- एल्गोरिदमको प्राकृतिक नियमबाट सबैभन्दा बढी फाइदा फेरि पनि नयाँ, युवा र वैकल्पिक शक्तिहरूलाई नै पुग्ने देखिन्छ। उनीहरूसँग डिजिटल मिडिया ह्यान्डल गर्ने दक्ष युवा टोली छ। जनतामा विद्यमान आक्रोश र परिवर्तनको चाहनालाई छोटो ‘रिल्स’ वा ‘टिकटक भिडियो’ मार्फत भावनामा बदल्न उनीहरू खप्पिस छन्। त्यसैले, रचनात्मक र सेन्टिमेन्टल सामग्रीमार्फत एल्गोरिदमलाई आफ्नो पक्षमा पार्न नयाँ दलहरू नै अगाडि देखिन्छन्।

परम्परागत ठूला दलहरू (नेपाली कांग्रेस, एमाले, नेकपा ):- पुराना दलहरू गत निर्वाचनको धक्कापछि निकै सचेत भइसकेका छन्। उनीहरूले आफ्ना भ्रातृ सङ्गठनहरूलाई ‘डिजिटल आर्मी’ को रूपमा रूपान्तरण गरिरहेका छन्। पुराना दलहरूसँग ठूलो आर्थिक स्रोत र सङ्गठित कार्यकर्ताको सञ्जाल छ। उनीहरूले ‘अर्गानिक’ भन्दा पनि ‘पेड प्रमोसन’ (पैसे तिरेर गरिने विज्ञापन) र एआई टूल्सको प्रयोग गरेर एल्गोरिदमलाई आफ्नो पक्षमा पार्न ठूलो धनराशि खर्च गर्नेछन्। प्राविधिक रूपमा कमजोर भए पनि आर्थिक शक्तिको बलमा एल्गोरिदम खरिद गर्ने होडबाजीमा यी दलहरू अगाडि रहनेछन्।

अन्त्यमा:- एल्गोरिदम आफैँमा खराब वा असल पक्ष होइन, यो केवल एउटा ऐना हो जसले हाम्रो डिजिटल बानीलाई प्रतिबिम्बित गर्छ। तर, जब यसले देशको स्थानीय सरकार र नेतृत्व चयन गर्ने प्रक्रियालाई अदृश्य रूपमा निर्देशित गर्न थाल्छ, तब यसले लोकतन्त्रको निष्पक्षतामाथि प्रश्न खडा गर्छ।


आगामी निर्वाचनमा फेसबुकको लाइक र टिकटकको भ्युजका आधारमा मात्र बगेर भोट हाल्ने कि उम्मेदवारको योग्यता, क्षमता र धरातलीय यथार्थ हेरेर निर्णय गर्ने? यो प्रश्न अब प्रत्येक सचेत नेपाली मतदाताको अगाडि उभिएको छ। एल्गोरिदमको जालोबाट मुक्त भई विवेकपूर्ण निर्णय लिनु नै अबकाे डिजिटल लाेकतन्त्रकाे वास्तविक परीक्षा हाे ।

(लेखक मिन अधिकारि हुन् । उनी टुगेदर फर चेन्जका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।)

Skip This

Omoda E5 Pro